पोखरा । पोखरा महानगरपालिका-४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयले ३९औँ स्थापना दिवस मनाएको छ । पुरस्कार, सम्मान र विभिन्न जातजातिका कला संस्कृति झल्किने कार्यक्रम गरेर भव्यतासाथ सम्पन्न गरेको हो ।
कार्यक्रममा कक्षा १२ विज्ञान संकायकी इरिन गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले प्रतिवेदनसहित मन्तव्य व्यक्त गर्दै स्थापनादेखि नै उत्कृष्ट शिक्षाका लागि सम्झौता नगरी यहाँसम्म आएको बताए । उत्कृष्ट शिक्षाका साथै अतिरिक्त क्रियाकलाप, शिक्षक र विद्यार्थी अनि अभिभावकका लागि पनि उत्प्रेरणाका कार्यक्रम गर्दै आएको उनको भनाइ थियो ।
समय सापेक्ष विश्वमा के चलिरहेको छ ? कस्तो शिक्षा प्रणालीमा जानुपर्छ र विद्यार्थीले के चाहिरहेका छन् भन्ने कुरालाई मध्यनजर गरेर सूचना प्रविधि, आईसीटी, थ्रिडीआईसँगै पछिल्लो क्रममा एआईसम्मका सेमिनार गरिएको बताए ।
पोखरा पर्यटकीय क्षेत्र पनि भएकाले नेपालमा छिमेकी देश चीनबाट धेरै पर्यटक आउने भएकाले भविष्यमा दोभाषेको काम गर्न इच्छुक हुनेका लागि काम लाग्ने भएकोले कक्षा ३ देखि ७ सम्म चाइनिज भाषाका कक्षा सञ्चालन भइरहेको छ । म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र विज्ञानको पढाइ र नतिजामा पनि उत्कृष्टता हासिल गरिरहेको बताए ।
गत वर्षको एसइईमा चार जिपिए ल्याउने सलिना खत्रीलाई १ लाख १ हजारसहित सम्मानपत्रले सम्मान गरिएको छ । यस्तै गणित विषयमा २८ जना विद्यार्थीले चार जीपीए ल्याएकोमा गणित विभागका दुई शिक्षक, सहप्राचार्य मन बहादुर भुजेल तथा गुरुप्रसाद भण्डारीलाई २५ हजार र सम्मानपत्रले सम्मान गरियो । २० वर्ष सेवा गरेका सहप्राचार्य मुकेश कुमार अधिकारीलाई दीर्घ सेवा सम्मान गरियो ।
विद्यालयमा साढे १२ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् । सामाजिक उत्तरदायित्व बहन गर्दै कास्कीको उत्तरी क्षेत्रमा रहेको वाराही प्रावि, हिमालय प्राविलाई शैक्षिक सामग्री, पोशाक र खाजा खर्चका लागि सहयोग गर्दै आएको अध्यक्ष पालिखेले बताए । सो अवसरमा ती विद्यालयका लागि विद्यालयको तर्फबाट शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।
लायन्स अन्तर्राष्ट्रिय, डिस्ट्रिक्ट ३२५ के नेपालको तर्फबाट गभर्नर दुर्गाप्रसाद हुमागाईं तथा फस्ट लेडि सरिता हुमागाईंको तर्फबाट वाराही प्रावि र चुरुङगाको धारा प्राविलाई ३०/३० हजार रुपैयाँ हजार हस्तान्तरण गरिएको थियो ।
यस्तै विद्यालयको तर्फबाट भुर्जुङखोलास्थित माछापुच्छ्रे माविका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बम बहादुर गुरुङलाई ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर सुवेदीले अन्तर्राष्ट्रिय छवि बनाइसकेको कुमुदिनीले अबका दिनमा यस साखलाई जोगाउँदै समय सापेक्ष अध्ययन, अध्यापन गराउन सुझाए ।
अभिभावकको तर्फबाट डा. सिर्जना खत्रीले छोरी सलिनाले गत वर्षको एसईईमा चार जीपीए ल्याउनुमा परिवारको सहयोगसँगै विद्यालय र शिक्षकको उत्प्रेरणाले सम्भव भएको बताइन् । उनले घरमा सबै अभिभावकले आफ्ना बच्चाको मनोबल बढाउने गरी व्यवहार गर्न अभिभावकहरूलाई अनुरोध गरिन् ।
विद्यालय व्यवस्थापन समितिका सदस्य तथा पत्रकार राजबहादुर गुरुङले विद्यालयको ३९ औं वर्षगाँठ ऐतिहासिक दिन भएको बताए । प्याब्सन केन्द्रीय समितिका सल्लाहकार वीर बहादुर बुढाथोकीले गण्डकी प्रदेशमा कास्कीको पोखरामा रहेको कुमुदिनी होम्स एउटा नक्षत्रको रूपमा रहेको बताए । उनले अशोक सरको लगाव, अहोरात्रको मेहनत, व्यावसायिकता लगायतका कारणले सम्भव भएको बताए ।
शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लोकनाथ आचार्यले आफू पनि यही विद्यालयको १२ वर्षसम्म अभिभावक रहेको र आफ्ना तीन बाबु नानीले उत्कृष्ट नतिजा ल्याउँदै तीनै जना अहिले डाक्टर पढ्दै गरेको सुनाए । संस्थापक अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रमको समापन सहप्राचार्य मन बहादुर भुजेलले गरेका थिए ।
उनले २०४४ सालमा स्थापना भएको विद्यालयले ‘शिक्षामा अस्तित्व, कुमुदिनीको नेतृत्व’ भन्दै अगाडि बढेको बताए । उनले विद्यालयबाट उत्पादित विद्यार्थीहरू अब्बल पाईलट, अभिनेता, क्याप्टेन, बैंकर लगायतका विशिष्ट ओहोदामा पुगेको सुनाए । कार्यक्रम शिक्षक सुरेन्द्र सदिच्छाले सञ्चालन गरेका थिए ।