लन्डन । ईलमपोखरी समाज यूकेले विगतका वर्षाझैँ यस वर्ष पनि ‘त ल्हो’ ल्होछार तथा नयाँ वर्ष भव्य रूपमा मनाएको छ । शनिबार, २० डिसेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध कार्यक्रमका साथ ल्होछार मनाएको हो ।
लमजुङ समाज यूकेका अध्यक्ष पूर्ण राज गुरुङको प्रमुख आतिथ्य तथा आमा समूहका अध्यक्ष तारा गुरुङको विशेष आतिथ्यमा कार्यक्रम भएको हो । विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलगायतको उपस्थिति थियो ।

कार्य समिति सदस्य सबिता गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रम समाजका अध्यक्ष परशु गुरुङ, संस्थापक अध्यक्ष मोहनसिङ गुरुङ, प्रमुख अतिथि पूर्ण राज गुरुङ र विशेष अतिथि तारा गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
कार्यक्रममा समाजमा भर्खरै जोडिएका सदस्यहरूलाई स्वागत तथा गत महिनामात्र चयन भएका सातौँ कार्य समितिका सल्लाहकारलाई सम्मान गरिएको थियो । अध्यक्ष परशु गुरुङ र उनकी धर्मपत्नीले खादा लगाएर सम्मान गरेका थिए ।
साथै, यस वर्ष GCSE उत्तीर्ण गरेका, Graduation, Masters Degree तथा MBBS गरेका समाजका नानीहरूलाई बधाईसहित खादा र प्रमाणपत्रले सम्मान गरेका थिए । तमु धीं यूकेले प्रदान गरेको ‘आदर्श तमुस्यो २०२५’ बाट विभूषित भएकी समाजका सदस्य शान्ता गुरुङलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष, विशेष अतिथि र प्रमुख अतिथिले मन्तव्यसहित शुभकामना व्यक्त गरेका थिए । अध्यक्ष परशु गुरुङले कार्यक्रमको आयोजनामा सहयोग गर्ने महानुभावलाई धन्यवाद दिएका थिए । उनले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन गरेका थिए ।
त्यसपछि, लुईस गुरुङले सञ्चालन गरेको सांस्कृतिक कार्यक्रममा चर्चित तथा लोकप्रिय गायक तिलक गुरुङ, स्थानीय कलाकारहरू माला घले, लुईस गुरुङ, हेमा गुरुङ र सम्झना गुरुङको सांगीतिक प्रस्तुतिमा सबैले भरपुर मनोरञ्जन गरेका थिए । अत्न्यमा आगामी वर्ष भेट्ने वाचा गर्ने छुट्टिएका थिए ।
