लन्डन । लन्डनको अल्पर्टनमा गुड्डु गुरुङ कलेक्सन बुटिक सञ्चालनमा आएको छ । तमु धीं यूकेको सांस्कृतिक सचिवसमेत रहेकी व्यवसायी एवं समाजसेवी गुड्डु गुरुङले १३ डिसेम्बरबाट बुटिक सञ्चालनमा ल्याएकी हुन् ।
तमुहरूको पर्व ल्होछार/ल्होसारको अवसर पारेर यूकेमा रहेका नेपाली तथा आदिवासी जनजातिहरूको पोसाक सुपथ मूल्यमा उपलब्ध गराउने लक्ष्यसहित पसल सुरु गरेको उनको भनाइ छ । प्रबन्ध निर्देशक गुड्डुलाई डिजाइन र बजार व्यवस्थापनमा सादना गुरुङ, कुसुम र पूजाले सघाएका छन् ।
पसल सुरु गरेसँगै ग्राहकहरूबाट ल्होछार तथा माघे संक्रान्तीका लागि जातीय पोसाकको अर्डर धमाधम आउन थालेको उनको भनाइ छ । विद्यार्थी हुँदादेखि नै कलाकारिता र समाजसेवामा अग्रसर गुड्डु नेपाली पोसाक सिलाइ बुनाइमा पनि पोख्त छिन् ।
यस्तै, उनी तमु धीं लन्डन इकाई आमा समूहको कोषाध्यक्ष पनि हुन् । नेपालको गण्डक क्षेत्रमा प्रचलित चुड्का कौडा गीतलेखन सिर्जना र नृत्यमा अब्बल उनी यूकेमा चारघरे दिदीबहिनीको उपनामले चिनिन्छिन् ।

गत आइतबार तमु धीं लन्डनका अध्यक्ष भरत गुरुङ, आमा अध्यक्ष देवकला गुरुङ, पहिलो महिला सिर्जना गुरुङ, वरिष्ठ उपाध्यक्ष ईश्वर गुरुङ, ट्रस्टी कमला गुरुङ, महासचिव रक गुरुङलगायत उपस्थित भएर व्यवसाय सुरु गरेकोमा खुसी लागेको जनाउँदै शुभकामना दिएका थिए ।
गुड्डुले 192 Ealing Road, Alperton मा रहेको पसलको भिजिट अनुरोध गरेकी थिइन् ।