अल्डरसट । शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरको अध्यक्षमा हरि भट्टराई चयन भएका छन् । १४ डिसेम्बर आइतबारका दिन शिव मन्दिरमा सम्पन्न साधारणसभा र कार्यसमितिको निर्वाचनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा सुष्मा गुरुङ, महासचिव निरज शर्मा, सहसचिव निरज तिवारी, कोषाध्यक्ष किशोर गुरुङ र सहकोषाध्यक्ष शर्मिला गुरुङ रहेका छन् ।

यसैगरी, सदस्यमा राधा शर्मा, अनिता कुमारी गुरुङ, चन्द्र सुन्दास, रुपेश कुमार काफ्ले, सपन प्रधान, सुनिल तिमिल्सिना, युवराज खत्री, प्रणव गौतम, सौरभ रावत, रुपेश बस्ताकोटी, अमिता बेल्बासे, नारायण गिरी, पवन प्रसाद दाहाल चयन भएका छन् ।
निर्वाचन समितिमा एकेन्द्र गुरुङ प्रमुख निर्वाचन आयुक्त तथा आयुक्त प्रमीला लाबुङ राई र अमर मल्ल रहेका थिए ।
त्यसअघि संस्थाका अध्यक्ष विक्रम भट्टराईको अध्यक्षतामा साधारणसभाको औपचारिक कार्यक्रम भएको थियो । महासचिव सुष्मा गुरुङले सञ्चालन गरेको कार्यक्रममा निरज शर्माले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराएका थिए ।

प्रमुख अतिथि मुलगुरु मधुसुदन सत्याल र अध्यक्ष विक्रम भट्टराईले दियो बालेका थिए । त्यसपछि उपाध्यक्ष हरि भट्टराईले स्वागत मन्तव्य राख्दै कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए ।
अध्यक्ष विक्रम भट्टराईले आफ्नो कार्यकालको संस्थाको प्रतिवेदन, महासचिव गुरुङले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मिराज तिवारीले आयव्यय विवरण प्रस्तुत गरेका थिए । मुलगुरु सत्यालले प्रमुख अतिथिको मन्तव्य राखेसँगै प्रश्नोत्तर सेसन भएको थियो । जसमा सहभागीले राखेका जिज्ञासाको अध्यक्षले जवाफ दिएका थिए । सो क्रममा संस्थाको विधान, मन्दिर लगायतबारे कुरा भएको थियो ।

त्यसपछि नयाँ कार्यसमिति चयन प्रक्रिया सुरु भएको थियो । प्रमुख आयुक्त एकेन्द्र गुरुङले निर्वाचन प्रक्रियाबारे जानकारी गराएसँगै अध्यक्षले पुरानो कार्यसमिति भंग भएको घोषणा गरेका थिए । नयाँ समिति निर्विरोध चयन भएको थियो ।
नयाँ समितिका पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेर अध्यक्षले आफ्नो प्रतिबद्धता प्रस्तुत गरेका थिए । निवर्तमान अध्यक्ष विक्रमले नयाँ अध्यक्ष हरिलाई चाबीसहित काजगपत्र हस्तान्तरण गरेका थिए ।
अन्त्यमा सबैलाई धन्यवाद दिँदै निर्वाचन संयोजक एकेन्द्र गुरुङले समापनको घोषणा गरे । निवर्तमान तथा नयाँ अध्यक्षले सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा सल्लाहकार तथा ट्रस्टीहरूसहित विभिन्न संघसंस्थाका अध्यक्ष र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


