मिचेट । तमु धीं यूकेको २५औँ साधारणसभा सम्पन्न भएको छ । शनिबार मिचेटस्थित आफ्नै भवनमा भव्य रूपमा साधारणसभा भएको हो ।
महासचिव डा. विशाल गुरुङले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराउँदै कार्यक्रम सञ्चालनलाई अघि बढाएका थिए ।
संस्थाका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ र पूर्वअध्यक्ष मेजर डम्मर घले एमबीईले संयुक्त रूपमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए ।

त्यसपछि नेपालको, बेलायतको र गुरुङको राष्ट्रिय गीत प्रस्तुत भएसँगै दिवंगत भएका तमु धीं का सदस्यको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष परशुराम गुरुङले राखेका थिए ।
तमु धींका हरेक इकाइले आफ्नो गतिविधिबारे जानकारी गराएका थिए । जसमा लन्डन ब्रान्चका अध्यक्ष भरत गुरुङ, ह्याम्पसायर इकाइ अध्यक्ष महेन्द्र गुरुङ, साउथ इस्ट रिजनलका अध्यक्ष शिवराम गुरुङ बीईएम, चार भन्ज्याङका दुर्गा गुरुङ तथा आमा समूहको महासचिव शान्ता गुरुङले पावर प्वाइन्टमार्फत आफ्नो गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसपछि पूर्वअध्यक्षहरू मेजर डम्मर घले, कमल गुरुङ, रामचन्द्र गुरुङ, ग्याम गुरुङ, हितकाजी गुरुङ, निवर्तमान अध्यक्ष हरि गुरुङ तथा ट्रस्टी एकेन्द्र गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।

महासचिवले ल्होछार, नेपाली मेला, गोर्खा कप, रेस फर लाइफ, लाइफ मेम्बर डिनर नाइट, डा. हर्क तथा चन्द्र स्मृति दिवसलगायत कार्यक्रम समेटेर समीक्षात्मक वार्षिक प्रतिवेदन र कोषाध्यक्ष अरुण गुरुङले संस्थाको वार्षिक आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
ट्रस्टी एकेन्द्र गुरुङ, हरि गुरुङ र मेजर कृष्ण गुरुङ रहेको समितिले विधान संशोधनसमेत गरिएको थियो । सम्मान कार्यक्रम पनि भएको थियो । नेपालबाट आएका रवि गुरुङ दम्पतीलाई खादा फेटा पछ्यौरी र फूल दिएर सम्मान गरिएको थियो । यस्तै, विभिन्न उपलब्धि तथा सम्मान पाएका रामचन्द्र गुरुङ, डेबिट गुरुङ र विशाल गुरुङलाई खादा र फेटा लगाएर सम्मान गरिएको थियो ।

सहभागीले राखेका जिज्ञासाको अध्यक्षले जवाफ दिएका थिए । त्यसपछि उनले आफ्नो भनाइ राखेर उपस्थितलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।
