पोखरा । तमु धीं नेपालको ल्होछार महोत्सवलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेकी पूर्वअध्यक्ष तथा तमु धीं यूके आमा समूहकी संस्थापक अध्यक्ष गुरुङले ५० हजार रुपैयाँ सहयोग गरेकी छन् ।
पोखरा महानगरपालिका-१ बगर पुरानो टुँडिखेलमा तमु धिं नेपालद्वारा पहिलोपटक पुस १४ , १५ र १६ गते आयोजना गर्ने तमु ल्होछार महोत्सव २०८२ भव्य सफलताको शुभकामनासहित समाजसेवी गुरुङले शनिबारआर्थिक सहयोग प्रदान गरेको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए ।
पुनम क्वोंने (घोताने/घोण्डे) तमु (गुरुङ) समाज यूके चेलीबेटी संस्थापक प्रमुख समेत हुन् । अध्यक्ष हुमबहादुर गुरुङले सहयोगी पुनमलाई धन्यवाद व्यक्त गरेका छन् ।
यसवर्ष सप्री ल्हो (सर्प वर्ग)को बिदाइ र त ल्हो (घोडा वर्ग)को आगमन हुँदै छ । तमुहरूले पुस १५ गते ल्होछारलाई धूमधामसाथ गाउँघरमा मनाउने चलनलाई निरन्तरता दिँदै आएका छन् । पोखराको ल्होछार महोत्सवमा परम्परागत मौलिक सांस्कृतिक कार्यक्रम हुनेछन् । खेलकुदका कार्यक्रम पनि समावेश गरिएको अध्यक्ष गुरुङले बताए । गुरुङका अनुसार महोत्सवका कार्यक्रमले राष्ट्रियता सुधार, सद्भाव, र एकतालाई बलियो बनाउने, पर्यटनको प्रवर्धन हुने र व्यावसायिक क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महोत्सवका आकर्षणहरूमा भलिबल प्रतियोगिता, खुल्ला छेलो प्रतियोगिता र मौलिक सांस्कृतिक प्रस्तुति रहेका छन् । यस्तै झाँकी प्रतियोगिता, गुरुङ भेसभुसा प्रतियोगिता, सामूहिक खुल्ला लोकनृत्य प्रतियोगिता हुने भएका छन् ।
झाँकीमा प्रथम हुनेले रुपैयाँ ६० हजार, भेसभुसामा प्रथम हुनेले ५ हजार, लोक नृत्यमा प्रथम हुनेले ७५ हजार, छेलोमा प्रथम हुनेले ४० हजार र भलिबलमा प्रथम हुने टिमले १ लाख ५० हजार, दोस्रोले ८० हजार, दुई टिमले जनही २५ हजार रुपैयाँसहित पुरस्कार पाउनेछन् ।
महोत्सवको पहिलो दिन पुस १४ गते बिहान साढे ११ बजे नदीपुर प्रहरी चौकी अगाडीबाट र्याली आयोजना गरिने भएको छ । महोत्सवलाई सम्पन्न गर्न अध्यक्ष गुरुङको संयोजकत्वमा २०१ सदस्यीय महोत्सव मूल आयोजक कमिटी र २६ वटा उपसमिति बनाएर तयारी भइरहेको छ ।
महोत्सव सम्पन्न गर्न ३७ लाख १० हजार रुपैयाँ खर्च हुने र ४१ लाख ५० हजार रुपैयाँ संकलन हुने आकलन गरिएको छ । महोत्सवको ३० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।