पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन्। निट डेन्टल केयर प्रालिको तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार पोखरामा आयोजित समारोहमा पोखरा महानगरका मेयर धनराज आचार्यले कोइरालालाई नगद २५ हजार ५५५ रुपैयाँ र सम्मानपत्र प्रदान गरे।
फोनिज गण्डकीले सञ्चालन गर्ने गरी निट डेन्टलले यस वर्ष पत्रकारिताका लागि ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ।
पुरस्कृत कोइराला समाधान मिडिया समूहअन्तर्गत समाधान न्युज डटकम का सम्पादक हुन्। स्याङ्जा पुतलीबजारका कोइरालाले २०५९ सालमा अन्नपूर्ण पोस्ट दैनिकबाट पत्रकारिता सुरु गरेका थिए। पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर कोइराला २०६५ देखि पोखरामा नै रहेर सक्रिय पत्रकारितामा संलग्न छन्।
उनी लेकसिटी कलेज र भद्रकाली माविमा अध्यापन गर्छन्। साथै संसदीय पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष तथा गण्डकीका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका प्रेस संयोजकसमेत रहेका उनले यसअघि पोखरा आर्थिक पत्रकारिता पुरस्कार र गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन्।
पुरस्कार ग्रहणपछि कोइरालाले निजी क्षेत्र सबल भए मात्र लोकतन्त्रको पहरेदार मानिने पत्रकारिता क्षेत्र सबल बन्ने बताएका छन्।
उनले भने, “निजी क्षेत्रको लगानी र भूमिकालाई अझै पर्याप्त मूल्यांकन गरिएको छैन। विज्ञापन बजार खुम्चिँदा मिडिया हाउसहरू संकटमा छन्।”
उनका अनुसार गण्डकीमा अनलाइनको संख्या बढे पनि “गुणस्तरीय र दिगो सामग्री उत्पादन” चुनौती यथावत छ।
कार्यक्रममा मेयर आचार्यले आदिवासी जनजाति पत्रकार संगठनले अन्य समुदायका पत्रकारलाई सम्मान गरेर समावेशिताको सन्देश दिएको बताए। निट डेन्टलद्वारा अक्षयकोष स्थापनालाई उनले “पत्रकारिता क्षेत्रका लागि उल्लेखनीय योगदान” भने।
नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले फोनिजको पुरस्कार गैरफोनिज पत्रकारले पाउनु सकारात्मक संकेत भएको टिप्पणी गरे। उनले वेलनेस टुरिजमसँगै निट डेन्टल गण्डकीमा अग्रणी बन्न सक्ने विश्वास व्यक्त गरे।
निट डेन्टलका प्रबन्ध निर्देशक वीरबहादुर राना (वीरेन) ले “धनाढ्य भएर होइन, केही सार्थक काम गर्ने सोचले” पुरस्कार स्थापना गरेको बताए। उनले पत्रकारहरूको हितका लागि स्थापना गरिएको अक्षयकोषबाट आफूले कुनै व्यक्तिगत लाभ खोजेको छैन भने।
फोनिजका संघीय सचिव एमबी आस्थामगरको संयोजकत्वमा बनेको समितिले पत्रकार कोइरालालाई पुरस्कृतका लागि छनोट गरेको थियो। समितिमा रुद्र श्रीस मगर, खिमा गुरुङ, मीना थापा मगर र सुरज थापामगर सहभागी थिए।
फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा सम्पन्न समारोहमा उपाध्यक्ष धनबहादुर गुरुङले स्वागत मन्तव्य राखे भने कार्यक्रम सञ्चालन महासचिव सुरज थापामगरले गरेका थिए।
वार्षिकोत्सवका अवसरमा निट डेन्टलले आफ्ना चिकित्सक तथा कर्मचारीलाई पनि सम्मान गरेको थियो।