लन्डन । तमु धीं लन्डन इकाइको १८औँ वार्षिक साधरणसभा भव्य रूपमा सम्पन्न भएको छ ।
७ डिसेम्बर आइतबार २०२५ का दिन संस्थाका अध्यक्ष भरत गुरुङको अध्यक्षता, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको प्रमुख आतिथ्य र आमा प्रमुख कमलादेवी गुरुङको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
महासचिव विकास रक गुरुङले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष ईश्वर गुरुङले राखेका थिए ।
सभामा महासचिवले संस्थाको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष प्रेमराज गुरुङले आर्थिक तथा आमा समूहको तर्फबाट आमा अध्यक्ष देवकला गुरुङले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै, आमा समूहका कोषाध्यक्ष गुड्डु गुरुङ (पार्वती)ले प्रस्तुत गरेको आमा समूहको वार्षिक आर्थिक प्रतिवेदनलाई पनि सभाहलले अनुमोदन गरेको थियो ।
साधरणसभामा उपस्थित विशेष व्यक्तित्वहरू, काउन्सिलर, ट्रस्टीसहित विभिन्न समाज संस्थाका अध्यक्षहरूको उपस्थितिमा शुभकामना तथा विशेष हौसला सुझावले सभाको गरिमा बढेको जनाइएको छ ।
काउन्सिलर लक्षबहादुर गुरुङ, दीपक गुरुङ, डेबिड र नन्दप्रसाद गुरुङलाई अभिनन्दन तथा सम्मान गरिएको थियो ।
साधरणसभाका प्रमुख अतिथि तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले तमु धीं लन्डन इकाइको एकता संगठनसॅंग अति प्रभावित यस संस्था साथै तमु धीं यूकेप्रतिको अतुलनीय सहयोगका लागि आभार व्यक्त गर्दै प्रगतिको कामना गरे । लन्डन इकाइलाई सधैँ सहयोग र साथ रहनेसमेत उनले प्रतिबद्धता जनाए ।

साधरणसभामा सहभागीले उठाएका जिज्ञासाको अध्यक्ष भरत गुरुङले सम्बोधन गरेका थिए । ‘त ल्हो’ घोडा वर्गसॅंगै आउने ल्होछार पर्व २७ डिसेम्बरमा तमु धीं यूकेको आयोजनमा हुने ल्होछार कार्यक्रम तथा १० जनवरी २०२६ मा हुने तमु धीं लन्डन इकाइको ल्होछार कार्यक्रम सफल बनाउन उपस्थितिका लागि उनले निमन्त्रण गरे ।
कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै सभाको समापन गरेका थिए । समापन भएपछि डिनर लिँदै हर्षोल्लासका साथ खुसी साट्दै ल्होछारमा भेट्ने वाचासहित सहभागीहरू छुटेका थिए ।

