लन्डन । भिजनरी इन्टरनेसनल प्रालिका सीईओ तथा एनएलपी मास्टर ट्रेनर इन्द्रबहादुर गुरुङ र भिजनरी इन्टरनेसनल प्रालिकै अध्यक्ष, साइक्लोजिस्ट तथा एनएलपी मास्टर ट्रेनर राजेश्वरी श्रेष्ठ गुरुङ नयाँ कार्यक्रमको तयारीसहित बेलायत आइपुगेका छन् ।
३० अक्टोबर २०२५ का दिन उनीहरू एक महिनाको भ्रमणका लागि लन्डनस्थित हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । विमानस्थलमा गोर्खा मिडियाका सहसम्पादक तथा ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लुएस)का पीआर प्रकाश गुरुङ र श्रीमती संगीना गुरुङले स्वागत गरेका थिए।
यो इन्द्रको छैटौँ र राजेश्वरीको चौथो पटकको बेलायत भ्रमण हो । गुरुङ दम्पतीले यसअघि पनि यूकेमा रहेका नेपाली समुदायका लागि विभिन्न ट्रेनिङ, कोचिङ र वेलनेस रिट्रिट कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । यसपटक उनीहरूले 'आकाशा हिलिङ एन्ड वेलनेस रिट्रिट' नामक तीन दिने रेसिडेन्सियल कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेका छन् । 
आगामी नोभेम्बरको तेस्रो साता आयोजना हुन लागेको उक्त रिट्रिटबारे जानकारी दिँदै इन्द्रले भने,'यूकेमा बसोबास गर्ने नेपाली समुदायका लागि यो कार्यक्रम आत्म–विकास, मानसिक सन्तुलन र सकारात्मक उर्जा प्रवाहका दृष्टिले अत्यन्तै लाभदायक हुनेछ ।'
त्यस्तै, अनुभवी साइक्लोजिस्ट राजेश्वरीले पारिवारिक वा मानसिक समस्या भोगिरहेका व्यक्तिहरूका लागि गोप्य व्यक्तिगत सेसन (Private Counseling Session) समेत सञ्चालन गर्ने योजना रहेको बताइन् ।

 
नेपालमा व्यस्त पेशागत जीवन बिताइरहेका गुरुङ दम्पतीले यसपटकको यूके बसाइलाई आंशिक कार्य तथा विश्राम (वर्क एन्ड हॉलिडे)का रूपमा लिएका छन् । उनीहरूले केही हप्तासम्म आफ्ना आफन्त, मित्र र सहयोगीहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने पनि जनाएका छन् ।
बेलायत भ्रमण सफल बनाउन सहयोग पुर्याउने बीजीडब्लूएसका अध्यक्ष मे.रि. टिकेन्द्र दल देवान, जेपी र पीआर प्रकाश गुरुङप्रति गुरुङ दम्पतीले विशेष धन्यवाद व्यक्त गरेका छन् ।