लन्डन । किरात याक्थुङ चुम्लुङ (केवाईसी) ग्रेटर रसमूर शाखा यूकेले आफ्नो १५औँ वार्षिकोत्सव तथा बालिहाङ ताङनाम पर्व भव्य रूपमा सम्पन्न गरेको छ । तमु धीं भवन मिचेटमा शनिबार भव्य रूपमा कार्यक्रम सम्पन्न भएको हो ।
केवाईसी यूकेका उपाध्यक्ष दीपेन्द्र याक्सो प्रमुख अतिथि रहेको कार्यक्रममा केवाईसी यूकेका संस्थापक अध्यक्ष केजे लिम्बू विशेष अतिथि रहेका थिए। यस्तै, अतिथिका रूपमा पहिचानवादी मोर्चा यूकेका संयोजक देवीबहादुर तुम्बाहाम्फे उपस्थित थिए ।
नेपालबाट आएकी कलाकार निरन्ता नेम्बाङ, गायक डीबी लिम्बू, तारा लक्सालगायत कलाकारहरूले लिम्बू संस्कृतिको झल्को दिने हाक्पारे, के–लाङ तथा अन्य याक्थुङ संस्कृति प्रस्तुत गरेका थिए।
कार्यक्रममा ढाइस खेल पनि अत्यन्त रमाइलो ढंगले प्रस्तुत गरिएको थियो, जसले सम्पूर्ण माहोल झनै उत्साहपूर्ण बनायो । सो क्रममा शाखाले पहिलो पटक १५औँ वार्षिकोत्सवको केक काटेर उत्सव मनाएको थियो । उक्त केक संस्थापक अध्यक्ष लिला सेलिङ माबोको बहुलीबाट काटिएको थियो ।
केक काट्ने कार्यक्रममा प्रमुख अतिथि दीपेन्द्र याक्सो, संस्थापक अध्यक्ष खड्काजाङ आङ्बोहाङ, शाखाका पूर्वअध्यक्ष जित मेन्याङ्बो र हालका अध्यक्ष थान कुमन नाल्बोको विशेष उपस्थिति रहेको थियो ।
केक काटेपछि संस्थापक अध्यक्ष माबोले संस्थाको स्थापना कालको सम्झना गरेकी थिइन् । ‘संस्था स्थापनाको सुरुवाती समयमा एक पैसाको स्रोत पनि नहुँदा कसरी कठिनाइका बीचमा संस्थालाई अघि बढाइयो र आज यो सफल अवस्थासम्म आइपुग्न सकियो,’ उनले भनिन् ।
यो वर्षदेखि शाखाले भाषा, संस्कृति र पहिचानको संरक्षणका लागि नयाँ पुरस्कार कार्यक्रम सुरु गरेको छ । जसअन्तर्गत ‘Best Dress (Adult Male/Female)’, ‘Best Dress (Under 17 Boy/Girl)’ र ‘Excellence in Service Award’ वितरण गरिएको थियो ।
Best Dress (Adult Male) तर्फ खड्काजाङ आङ्बोहाङ, Best Dress (Adult Female) मा रिता फोम्बो खापुङ, Best Dress (Under 17 Boy) मा अमनहाङ नाल्बो, Best Dress (Under 17 Girl) मा अमिक्षा वानेम र Chumung Branch Award सूर्य खापुङलाई प्रदान गरिएको थियो ।

कार्यक्रम सञ्चालन उपाध्यक्ष कृष्ण योङहाङले गरेका थिए । कार्यक्रम सम्पन्न गर्न संस्थाका अध्यक्ष थान नाल्बो, उपाध्यक्षहरू बिरेन्द्र लोकताम र मति मेन्याङ्बो, कोषाध्यक्ष टिका मादेन, सह–कोषाध्यक्ष रिचर्ड वानेम, सदस्य गौरीमाया लिम्बु साथै अन्य सक्रिय कार्यसमिति सदस्यहरूको सहयोगमा रहेको थियो ।
कार्यक्रमको लारिङ्गेक (नाचगान) भागको सुरुवात मति मेन्याङ्बोले गरेका थिए । समापन लोकप्रिय गायक आश्रज बोक्खिमले गरेका थिए । तम्बुला (भाग्य परीक्षण खेल) सञ्चालन गरी कार्यक्रमको औपचारिक समापन गरिएको थियो ।
अध्यक्ष थान कुमन नाल्बोले अतिथि, सहयोगी, कलाकार, आयोजक तथा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ सक्रिय रूपमा संस्कृति, भाषा र समुदायको हितका लागि काम गर्न आग्रहसहित कार्यक्रम समापन गरेका थिए ।