लन्डन । बेलायतमा बसोबास गर्ने नेपाली मूलका ज्येष्ठ नागरिकहरूको जीवनस्तर अभिवृद्धि र सशक्तीकरण गर्ने उद्देश्यका साथ तमु समाज यूकेले सञ्चालन गरेको निःशुल्क अंग्रेजी र वेलबिइङ कक्षा सम्पन्न भएको छ ।
बारहम पार्क, वेम्ब्लीस्थित तमु समाज यूके नेप्लिज कम्युनिटी सेन्टरमा १६ अक्टोबरका दिन उक्त प्रारम्भिक स्तरको कक्षा सम्पन्न भएको हो ।

नेसनल लटरी कम्युनिटी फन्डको आर्थिक सहयोगमा सञ्चालित यस कार्यक्रमको समापन समारोहमा लन्डन बरो अफ ब्रेन्टका मेयर काउन्सिलर रायन ह्याक प्रमुख अतिथिका रूपमा उपस्थित थिए । मेयरको आगमनका क्रममा तमु समाज यूकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घले र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले खादा र पुष्पगुच्छा अर्पण गरी स्वागत गरेका थिए ।
यस अवसरमा मेयर ह्याकलाई १४ मे २०२५ मा निर्वाचित भई ब्रेन्ट काउन्सिलको २०२५–२०२६ कार्यकालका लागि मेयरको जिम्मेवारी सम्हालेकोमा बधाई ज्ञापन गरेका थिए । ब्रेन्टको इतिहासमा २६ वर्षको उमेरमा सबैभन्दा कान्छा मेयर बनेका काउन्सिलर ह्याक ब्रन्डसबरी पार्क वार्डका लेबर पार्टीका प्रतिनिधि हुन् ।
समारोहका क्रममा मेयर ह्याकले प्रारम्भिक अंग्रेजी तालिम सफलतापूर्वक सम्पन्न गरेका नेपाली ज्येष्ठ नागरिकहरूलाई प्रमाणपत्र वितरण गर्दै उनीहरूको लगनशीलता र सिक्ने उत्साहको प्रशंसा गरे । साथै, उनले कक्षा शिक्षिका अमृता गुरुङ थापा र व्यवस्थापन टोलीका सदस्य सल्लाहकार यम गुरुङ, सल्लाहकार इमान घले, आजीवन सदस्य बलकृष्ण गुरुङ तथा कार्यसमिति सचिव क्याप्टेन तेसर जङ गुरुङलाई कार्यक्रम सफल बनाउन पुर्याएको उल्लेखनीय योगदानका लागि आभार व्यक्त गर्दै कदरस्वरूप सम्मानपत्र प्रदान गरे ।

कक्षाहरू २०२५ अप्रिल ३ देखि हरेक बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तमु समाज यूके नेप्लिज कम्युनिटी सेन्टरमा सञ्चालन भएका थिए । कक्षाको संयोजन अमृता थापाले गरेकी थिइन् भने सल्लाहकारद्वय यमबहादुर गुरुङ र इमान घलेले व्यवस्थापकीय सहयोग पुर्याएका थिए । यस अवधिमा सहभागीहरूलाई प्रत्येक सत्रमा निःशुल्क पाठ्यपुस्तक तथा कलम र हल्का जलपानको समेत व्यवस्था गरिएको थियो ।
कार्यक्रममा तमु समाज यूकेका अध्यक्ष बिन्दु कुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, उपाध्यक्ष भीमबहादुर गुरुङ, सल्लाहकार इमान घले र यमबहादुर गुरुङसहित अन्य सामुदायिक अगुवाहरूको बाक्लो उपस्थिति थियो ।
अध्यक्ष श्रीमती बिन्दु कुमारी गुरुङ घलेले ज्येष्ठ नागरिकका लागि अंग्रेजी शिक्षाको आवश्यकतामा जोड दिँदै नेसनल लटरी कम्युनिटी फन्ड र प्रमुख अतिथिको रूपमा सहभागी भएका मेयर काउन्सिलर रायन ह्याकप्रति विशेष आभार व्यक्त गरिन् । उनले स्वयंसेवी टोली र संस्थापक अध्यक्षले उक्त अनुदान प्राप्त गर्न गरेको प्रयासको पनि सराहना गरिन् ।

संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले ज्येष्ठ सहभागीहरूलाई अंग्रेजी अध्ययनमा निरन्तर लागिरहन प्रोत्साहित गर्दै यसले दैनिक जीवनका कार्य जस्तै: यात्रा, किनमेल, स्वास्थ्य जाँच र परामर्शमा ठूलो मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रमको तस्बिर जीवन गुरुङले खिचेका थिए भने तमु समाज यूकेले सहभागीका लागि दिवाभोजको व्यवस्था गरेको थियो । नेसनल लटरी कम्युनिटी फन्डको सहयोगमा सम्पन्न यो औपचारिक कार्यक्रम समाप्त भए पनि तमु समाज यूकेले ज्येष्ठ नागरिकहरूको हितलाई ध्यानमा राख्दै आगामी दिनहरूमा पनि प्रत्येक बिहीबार अंग्रेजी भाषा र वेलबिइङ कक्षालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रम संस्थाका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङको विशेष पहलमा सञ्चालन भएको थियो । बिहान ११:३० बजे सुरु भई दिउँसो २ बजे सम्पन्न भएको यो समारोह आत्मीयता, खुशी र सामुदायिक एकताको भावनाले ओतप्रोत थियो ।
कार्यक्रममा सहभागी र अतिथिले शिक्षा, सुस्वास्थ्य र सामाजिक एकताका लागि तमु समाज यूके र मेयर ह्याकले देखाएको प्रतिबद्धताप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।
-1760715535.jpg)
