लन्डन । रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटी (आरजीएनएस) को अध्यक्षमा ह्यारी गुरुङ निर्वाचित भएका छन् ।
बेलायतको प्लमस्टिडस्थित मगर भवनमा आइतबार भएको आरजीएनएसको छैटौं अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष गुरुङले यसअघि संस्थाको कोषाध्यक्ष, महासचिवजस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् ।
सामाजिक अभियन्ताका रुपमा बेलायतको सिंगो नेपाली समुदायमा चिरपरिचित गुरुङले साउथ इष्ट रिजनल तमु धीं लन्डन, हङकङ नेपाली मञ्च, नेपाली युथ एशोसिएसनलगायत संस्थाको सफल नेतृत्व गरिसकेका छन् ।
आरजीएनएसको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा संगीता मगर र माधवलाल श्रेष्ठ, महासचिवमा पुष्कल श्रेष्ठ, सचिवमा अमर गुरुङ, कोषाध्यक्षमा सोनी श्रेष्ठ र सहकोषाध्यक्ष लक्ष्मी लिम्बू निर्वाचित भएका छन् ।
सदस्यहरुमा रवि अर्याल, मनोजकुमार गुरुङ, निर्मल थापा र मनिष चौधरी चुनिएका छन् ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई निर्वाचन समितिका संयोजक सुमलकुमार गुरुङले शपथग्रहण गराएका थिए ।
नयाँ कार्यसमितिलाई ग्रीनवीच बरोका निवर्तमान मेयर जीत रानाभाट, एनआरएनए यूके पूर्वअध्यक्ष महेन्द्र कँडेल, आरजीएनएस पूर्वअध्यक्ष शर्मिला हिराचन, नेसा अध्यक्ष केशबहादुर गुरुङ, कर्ण शाही, विनोद ज्ञवाली, नरेन्द्र कँडेल, हेल्प नेपाल नेटवर्क यूके अध्यक्ष सचिन श्रेष्ठ, अन्तर्राष्ट्रिय धादिङ समाज अध्यक्ष राजन खकुराल, जिगेसा अध्यक्ष हरिकुमार मल्ल, साउथ इष्ट रिजनल तमुधिंका निवर्तमान अध्यक्ष पिके लामा र आमा समूह प्रमुख विन्दु गुरुङसहित विभिन्न संघसंस्था र समुदायका प्रतिनिधिले सफल कार्यकालको शुभकामना दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष ह्यारी गुरुङले विगतका कमजोरीहरुको समीक्षा गर्दै अब संस्थालाई सुधार र बिस्तारतर्फ अघि बढाउने अठोट व्यक्त गरेका छन् ।
निवर्तमान कार्यसमितिकी अध्यक्ष लिलादेवी गुरुङले आफ्नो कार्यकाललाई सफल बनाउन योगदान गर्ने सबैलाई धन्यवाद दिइन् । अध्यक्ष लिलादेवी गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनको पहिलो सत्रमा महासचिव ह्यारी गुरुङले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित भएका थिए । विधान समितिका संयोजक फडिन्द्र भट्टराईको तर्फबाट समितिका सदस्य केशबहादुर गुरुङले राखेको विधान संशोधन प्रस्ताव पनि संशोधनसहित पारित गरिएको थियो ।