फार्नबोरो । गोर्खा मिडियाको सफल च्यारिटी कार्यक्रमपश्चात् ब्यान्डका सदस्य, गायक, स्वयंसेवक, पत्रकार र मुख्य प्रयोजकलाई गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले धन्यवाद डिनरको आयोजना गरेका छन् । कार्यक्रम गोर्खा प्यालेस रेस्टुरेन्ट फार्नबोरोमा गत ७ सेप्टेम्बरमा भएको हो ।
कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, गैर आवासीय नेपाली संघ केन्द्रका सल्लाहकार सूर्य गुरुङ, पत्रकार महासंघ बेलायतका कोषाध्यक्ष सविन्द्र कुमार गुरुङ, फोटो पत्रकार तेज गुरुङ, डीएमटी ब्यान्डका संस्थापक दिनेश गुरुङ, ब्यान्डका सदस्यहरू सोनाहाङ राई, रेशम पाचे मगर, मीन गुरुङ, कुमार गुरुङ च्यारिटी नाइटका आयोजक मिलन तमु, प्रकाश गुरुङ, संगीना गुरुङ र गायिका पवित्र गुरुङको उपस्थिति थियो।
सो अवसरमा गोर्खा मिडियाले गत ३१ अगस्तमा आयोजना गरेको ‘म्युजिकल सोलो विथ पवित्र गुरुङ एन्ड डीएमटी ब्यान्ड च्यारिटी नाईट’बारे एकाआपसमा अनुभव साटासाट भएको थियो । तमु धीं यूके अध्यक्ष गुरुङले सहारा यूकेलाई धन्यवाद दिएका थिए । सहारा यूकेले आयोजना गरेको कार्यक्रममा स्वरसम्राट नारायण गोपालको गीत ‘केही मिठो बात गर’ प्रस्तुत गरेकी थिइन् । त्यसले सहभागीमाझ छुट्टै छाप छाड्न सफल भइन् ।
गोर्खा मिडियाले उक्त विषयलाई जन समुदायमा पुर्यायो र एकल साँझको परिकल्पना गर्यो । कार्यक्रमको सम्पूर्ण थिम बनाउने र अन्त्यमा सफलतापूर्वक कार्यक्रम सञ्चालन प्रकाश गुरुङले गरेका थिए । ‘यो दाज्यूको मिरमिरे आँखा’ गीतबाट कार्यक्रम समापन अति नै सान्दर्भिक देखियो भन्ने विचार राखेका थिए ।
सल्लाकार सूर्य गुरुङले आफू एनआरएनए यूकेको अध्यक्ष हुँदा गरेको कार्यक्रम ‘ट्रिब्यूट टू द लिजेन्ड’ सम्झना गराउँदै च्यारिटी सफल भएको बताए । उनले २०३८ सालमा पीएन क्याम्पस पोखराको विद्यार्थी हुँदा नारायण गोपाल साँझको आयोजना गरेको स्वरसम्राटसँगै खिचेको फोटो देखाउँदै गीत संगीतमा सधैँ लगाव रहेको बताए । ‘बेलायतमा मिडियाले यो खालको प्रोग्राम गरेको पहिलो पटक हो। अति राम्रो भयो। ड्रीम केम ट्रिउ नै भयो,’ उनले भने ।
एसके गुरुङले प्राविधिक पक्षमा केही सुधार गर्नुपर्ने बताए । ‘शिक्षाको लागि मिडियाले गरेको काम साह्रै नै सह्रानीय छ। बेलायतमा ब्यान्डका सदस्य एउटै ड्रेस कोडमा देखिएको दोस्रो पटक हो। राम्रो देखियो,’ उनले भने ।
मीन गुरुङले कार्यक्रम सोचेको भन्दा राम्रो भएको बताए । जापान लामो समय बसेको अनुभव सुनाए । ‘जापान र बेलायतमा धेरै कार्यक्रम गरियो तर यति राम्रो व्यवस्थित देखेको थिइनँ। गायिका पवित्रको अनुशासन, संस्कारी र नम्रतापन देख्दा बुहारी बनाउन मन लाग्छ तर के गर्ने छोराको विवाह भइसक्यो’ भन्दै रमाइलो गरेका थिए ।
कुमार गुरुङले सबैको साथ र सहयोगले नै कार्यक्रम भव्य भएको बताए । डीएमटी ब्यान्डलाई मौका दिएकोमा दिनेश गुरुङ गोर्खा मिडियाप्रति आभार प्रकट गरे । ‘हाम्रो लागि राम्रो प्लेटफर्म थियो । केही सुधार गर्नु पर्ने त अवश्य हुन्छ । भविष्यमा यस्तै कार्यक्रम भएमा डीएमटी ब्यान्डलाई सम्झिनुहोला,’ उनले भने ।
नेपालबाट आएका गायकले च्यारिटीका लागि गर्न पाएको यो पहिलो कार्यक्रम भएको सोनाहङ राईले बताए । ‘हामी एउटै संगीत विद्यालयका विद्यार्थीलाई गोर्खा मिडियाले बेलायतको एउटै मञ्चमा भेटाइदिनुभयो । हाम्रो सौभाग्य रहेछ । यो स्तरको कार्यक्रम बेलायतमा गर्न पाएको थिएन,’ उनले भने ।
रेशम पाचे मगरले गोर्खा मिडियाले राम्ररी कार्यक्रमको व्यवस्थापन गरेको बताए । ‘चाहे रिहरसलमा होस् वा मुख्य कार्यक्रममा सधैँ कलाकार र म्युजिसियनहरुलाई ख्याल राख्नुभयो । आयोजकले कार्यक्रम सकिएपछि हामीलाई वास्ता गर्ने समय नै हुँदैन,’ उनले भने, ‘आज तपाईंहरुले सबै टिमलाई बोलाएर डिनरका साथ धन्यवाद दिनु भयो। अति नै आभारी छु।’
उनले गायिका पवित्रको उज्ज्वल भविष्यको पनि कामनासमेत गरे । तेज गुरुङले टिममा जोडिन पाएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमको प्रशंसा गरे ।
संगीना गुरुङले कार्यक्रम स्तरीय भएको बताइन् । उनले भनिन्, ‘पवित्रको स्वर राम्रो सुनिएको थियो । जब गुरुङ चन्दन कुमार श्रेष्ठको सरप्राइज भिडियो देखाइयो र पवित्र भावुक बनिन्। हलको माहौल नै भिन्नै भएको थियो । त्यसपछि धेरै रकम उठ्यो । सानै उमेरमा गरेको प्रगति देख्दा खुसी लाग्यो। सधैँ सफलता मिलिरहोस्।’
गायिका पवित्रले उपस्थित सबैलाई धन्यवाद दिइन् । उनले धन्यवादस्वरुप उपस्थित सबैलाई ढाकाटोपी लगाइदिएकी थिइन् ।बेलायत आएर यो स्तरको प्लेटफर्म पाउँछु भनेर आफूले नसोचेको उनको भनाइ थियो । ‘सबैले माया गर्नुभएको छ । मप्रति विश्वास गरेर नै एकल साँझ पनि गर्नुभयो,’ उनले भनिन्, ‘भविष्यमा मैले योस्तरको कार्यक्रम गर्न पाउँला नपाउँला तर मेरो लागि सपना साकार भएको छ ।’
बाल्यकालको आफ्नो सपना सम्झिँदै उनी भावुक बनेकी थिइन् । ‘सानै हुँदा एउटा मात्र गीत रेकर्ड गर्ने सपना थियो। अनि बाबुआमालाई गीतसंगीतबाट खुसी बनाउने अठोट लिएको थिएँ,’ भावुक हुँदै उनले भनिन्, ‘आज म सफल भएको त भन्दिन तर दर्शक श्रोताहरूको मायाले गर्दा आमाबाबालाई खुसी दिन सकेको छु । मेरो प्रत्येक पाइलामा दिदीको साथ र सहयोग छ। गुरु चन्दन कुमार श्रेष्ठलाई पनि सम्झिन चाहन्छु।’
गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले बाबुआमासरह नै अभिभावकको भूमिका निभाएर आफूलाई साथ र सहयोग गरेको भन्दै गायिका पवित्रले आभार प्रकट गरिन् ।
आफूलाई बच्चैदेखि सामाजिक काम गर्ने चाहना रहेको बताउँदै उनले अहिले ढुंगा खोज्दा देवता मिलेझैँ भएको उनको भनाइ थियो । ‘आफूले पढेको विद्यालयका लागि च्यारिटी गोर्खा मिडियाको पहलमा भयो। कार्यक्रमको दौरानमा आफ्नै संगीत विद्यालयका दुई सिनियर दाइहरू सोनाहङ राई र रेशम पाचे मगरको साथमा प्रस्तुति दिन पाउँदा अति नै भाग्यमानी ठानेको छु,’ उनले भनिन् ।
गुरुको सरप्राइज भिडियो राखिदिएकामा कार्यक्रम सञ्चालक प्रकाश गुरुङप्रति उनले आभार प्रकट गरिन् । ‘त्यो मेरो जीवनकै पहिलो सरप्राइज हो । मैले कल्पना पनि गरेको थिइन । मैले यति धेरै माया र सहयोग पाएको छु । धन्यवाद दिनै शब्द नै छैन,’ उनले भनिन् ।