लन्डन । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले बेलायतमा नेपाली व्यवसायी तथा समाजसेवीलाई सम्मान गरेको छ । प्रिन्सेस हलमा लाइभ म्यूजिकसहित शनिबार आयोजित च्यारिटी डिनर कार्यक्रमको अवसरमा उनीहरुलाई स्ममान गरिएको हो ।
मन्दिर स्थापनाकालदेखि अहोरात्र खटिएका र सहयोगीहरुलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको सेन्टरका अध्यक्ष विक्रम भट्टराईले बताए । कार्यक्रम बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यतामा भएको हो । सम्मानित हुनेमा व्यवसायीहरु रविन्द्रजंग लामिछाने र योगेन्द्र क्षेत्री, संस्थापक अध्यक्ष हरिविभोर कार्की, संस्थापक उपाध्यक्ष शेरबहादुर सुनार, मेजर रि. सूर्यप्रसाद उपाध्याय, क्याप्टेन गोपाल विश्वकर्मा, पूर्व काउन्सिलर जीव बेल्वासे, भारतीयमूलका सहयोगी अनुप बर्मा, डा. कुमार, सुनित जैन, चारजना पूर्व अध्यक्षहरु रोहित गुरुङ, भीम बानिया, बाचस्पति रेग्मी र प्रकाश राउत, अम्बर मल्ल, हरिकुमार श्रेष्ठ, पुरण गिरी, फार्नबोरो साई सेन्टरका केबी गुरुङ (बा साइराम) र हर्कबहादुर गुरुङ छन् ।
कार्यक्रममा अल्डरसट क्षेत्रकी सांसद अलेक्स बेकर र मेयर क्यालम स्टेवार्ट, बीसीसी यूकेका धर्मगुरुहरुसहित शिव मन्दिरका पण्डितहरु, नेपाली संघसंस्थाका प्रमुख, काउन्सिलरहरु, दातालगायत करिब ५ सय सहभागी भएको आयोजकले जनाएका छन् ।


