लन्डन । बेलायतमा रहेका पुराना कलाकारहरुको सम्मान र मन्दिर सहयोगार्थ शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले च्यारिटी डिनर सम्पन्न गरेको छ ।
प्रिन्सेस हलमा लाइभ म्यूजिकसहित शनिबार सेन्टरका अध्यक्ष विक्रम भट्टराईको अध्यक्षता र बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यतामा च्यारिटी डिनर आयोजना गरिएको हो ।
अल्डरसटमा मन्दिर सञ्चालन गरिरहेको सेन्टरले मन्दिरसँग जोडिएको छिमेकी घर गत वर्ष लगभग तीन लाख पाउन्डमा किनेको थियो । सोही मन्दिर विस्तारको खर्च जुटाउन आयोजित च्यारिटीबाट करिब २० हजार पाउण्ड बचत गर्ने आशा गरिएको सेन्टरका अध्यक्ष विक्रम भट्टराईले जनाए । उनका अनुसार ३९ हजार पाउण्ड प्रतिबद्धतामध्ये स्पोन्सर ६ हजार पाउण्ड, भक्तजनहरुबाट ९ हजार पाउण्ड र ५०० जनाको ५० पाउण्डका दरले टिकट बिक्री भएको छ ।
कार्यक्रममा अरुण थापाको गीतहरुमा संगीत भरेका संगीतकार विक्रम गुरुङ, दिनेश सुब्बा, नेपथ्यका पूर्वसदस्य रवीन श्रेष्ठ, ८४ वर्षीय वृद्ध गायक वीरबहादुर थापालगायतले लाइभ गीत संगीत प्रस्तुत गरे ।
कार्यक्रममा मन्दिर स्थापनाकालदेखि अहोरात्र खटिएका र सहयोगीहरुलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको छ । साथै, मन्दिरको १६ वर्ष लामो इतिहासलाई दस्तावेजीकरण गर्न ‘शिव दर्शन’ नामक स्मारिका प्रकाशन गरि लोकार्पण गरियो । उक्त स्मारिकाको प्रधानसम्पादक संरक्षक रोहित गुरुङ हुन्।
कार्यक्रममा अल्डरसट क्षेत्रकी सांसद अलेक्स बेकर र मेयर क्यालम स्टेवार्ट, बीसीसी यूकेका धर्मगुरुहरुसहित शिव मन्दिरका पण्डितहरु, नेपाली संघसंस्थाका प्रमुख, काउन्सिलरहरु, दातालगायत करिब ५ सय सहभागी भएको आयोजकले जनाएका छन् । च्यारिटी डिनरमा विशुद्ध भेजिटेरियन खाना राखिएको थियो ।