लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पुडासैनीले एनआरएनए यूकेलाई संसारभरकै उत्कृष्ट बनाउन आफू लागीपर्ने बताएका छन् ।
शपथ तथा पदभार ग्रहणपछि सोमबार धन्यवाद सन्देश लेख्दै अध्यक्ष पुडासैनीले उक्त प्रतिबद्धता जनाएका हुन् । 'अब एनआरएनए यूकेलाई संसारभरकै उत्कृष्ट एनआरएनए एनसीसीको रूपमा उभ्याउन तपाईंहरूको निरन्तर सहयोग आवश्यक छ,' उनले भने, 'हामी यूकेमा रहेका विभिन्न संघसंस्थासँग सहकार्य गर्दै, एकताबद्ध भएर काम गर्न चाहन्छौँ । तपाईंहरूको सल्लाह र सुझाव सधैं आवश्यक छन् ।'
आफू नेतृत्वको कार्यसमितिले नयाँ कार्यक्रम र संस्थाहरुसँग सहकार्य गर्नमा उच्च प्राथमिकतामा राख्ने जनाउँदै अध्यक्ष पुडासैनीले सकारात्मक सुझावहरूलाई कार्यसमितिले सधैं स्वागत गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 'नयाँ कार्यक्रमहरू र संघसंस्थासँग हातेमालो गर्ने योजनाहरू हाम्रा उच्च प्राथमिकतामा पर्नेछन् । तपाईंहरूसँग भएका सकारात्मक सुझावहरूलाई म र हाम्रो कार्यसमितिले सधैं स्वागत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,' उनले भने ।

उनले गैरआवासीय नेपाली संघ बेलायतको निर्वाचनमा आफ्नो अमूल्य मत दिई निर्वाचित गराउने सबैप्रति आभार प्रकट गरे । उनले मतदाताको विश्वासलाई आगामी दुई वर्षभित्र एनआरएनए यूकेलाई भरपूर रूपमा सदुपयोग गर्ने पनि प्रस्ट्याए ।
निर्वाचन अभियानमा साथ दिनेहरु, अध्यक्ष पदका लागि प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पनि उनले धन्यवाद दिए । उनले आगामी दिनहरूमा आफूहरु एउटै लक्ष्यका लागि मिलेर कार्य गर्ने भन्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने प्रमुख निर्वाचन आयुक्त रामशरण सिमखडालगायत सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिए ।
एनआरएनए यूकेको शनिबार भएको अनलाइन मतदानबाट पुडासैनीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।