टिलपिल टिलपिल गरिरहने तार बन्यौ कि
चम्किरहने जून ।
बिहानीको शितका थोपा बन्यौ कि
बगैँचामा फुलिरहने फूल
ममताको आँचलले छोपेर राखेको थिएँ नि
फक्रिन नपाउँदै टप्प टिपेर लग्यो नि
मुटुको टुक्रालाई चुँडालेर लग्यो नि
''भनिदेऊ निष्ठुरी दैव मैले के भूल गर्यो नि ।।
लिन मिल्ने भए तिम्रो सबै दुखाईहरू लिन्थेँ
किन्न मिल्ने भए सबै खुशीहरू किन्थेँ
'' वेदना र पीडाहरूले भरिएका मन
आँसु बनी बगी दिन्छ ।।
हजारौं दियो बालेकै थिएँ
मठ मन्दिरहरू धाएकै थिएँ
धर्म र कर्म सेवाका हातहरू फैलाएकै थिएँ
''भनिदेऊ निष्ठुरी दैव मैले के भूल गरेँ ।।
जीवनभरि नमेटिने घाउ दियो नि दैव
पलपल सम्झिने मिठो क्षण दियो नि
छुटेर जाने न्यानो माया दियो नि
''भनिदेउ निष्ठुरी दैव मैले के भूल गरे नि ।।
दुःखेको मनलाई लुकाई हाँस्नु नै पर्ने
मृत्यु तुल्य भएर पनि जिउनु नै पर्ने
जीवनको यथार्थ हो भनी स्विकार्नु पर्ने
''हे निष्ठुरी दैव तिम्रो नै खेल हो भनी
यो मन बुझाउनु नै पर्ने ।।