निकै परिवर्तन भइसकेको छ,
ऐना हेर्दा कहिलेकाहीँ अतीत झल्कन्छ ।
शरीरले पुरानै रूप खोज्दैन,
तर मन अझै कहिलेकाहीँ त्यो उमेरमै पुग्छ ।
जमाना थियो हर्षको, मोजको,
जहाँ हावासँगै सपना पनि उड्थे ।
रुपरङ्गमा जवानी बोल्थ्यो,
हाम्रो आँखा आफैंमा विश्वास गर्थे ।
जागिरको बहानामा देश देशान्तर पुगेका,
अनुभवहरू बटुलेका,
कहिले गोलाबारुदसँग, कहिले होनोलुलुको
सामुद्री किनारमा खेल्दै,
जीवन त्यो बेला साँच्चै रंगीन थियो ।
अहिले त्यो सबै समयझैँ टाढा लाग्छ,
तर सन्तानहरूलाई हेर्दा,
उनीहरूमा आफैँलाई देख्छु, त्यही उमेर, त्यही उमङ्ग ।
मन मुस्काउँछ, सम्झना आँखा चिम्लिन्छ ।
“वर्तमानमै बाँच्नुपर्छ”
यो वाक्य अहिले हृदयमा गहिरो गरी बस्छ ।
भूत मिठो छ, तर जीवनको सार
आजको क्षणमा नै लुकेको छ ।
एक जमानामा हामी पनि थियौं,
अब त्यो दिनहरू सम्झिने बेला आएको छ ।
तर हरेक सम्झना, हरेक मुस्कान
अझै जीवनको रमाइलो पक्ष बनेर बाँचेको छ ।