लन्डन । तमु समाज यूकेले ज्येष्ठ नागरिक तथा अन्य सदस्यहरुलाई स्वास्थ्य र कल्याणसम्बन्धी तालिम दिएको छ । समाजकी आजीवन सदस्य तथा पेशेवर नर्स मनिका गुरुङको सहकार्यमा वारहम पार्कस्थित तमु समाज कम्युनिटी हलमा १७ जुलाई २०२५ मा तालिम आयोजना गरिएको हो । तालिममा समाजका सदस्यहरू, जेष्ठ आमाबाबा तथा अन्य समुदाय सदस्यहरूको सहभागिता थियो ।
बिग लटरी फन्डबाट प्राप्त आर्थिक सहयोगअन्तर्गत संचालन गरिएको तालिममा मनिका गुरुङले स्वास्थ्य जीवनशैली, सन्तुलित आहार र स्वास्थ्यमा प्रभाव पार्ने खाद्य पदार्थहरूका बारेमा जानकारीमूलक प्रस्तुति दिएको तमु समाजकी अध्यक्ष विन्दु कुमारी घले गुरुङले जानकारी दिए । उनका अनसार स्वास्थ्यका लागि कस्तो खाना लाभदायक हुन्छ ? कुन खाना हानिकारक मानिन्छ? पोर्शन साइज कस्तो हुनुपर्छ? स्वास्थ्य जीवनशैलीका लागि दैनिक व्यवहारमा के–कस्ता सुधार गर्न सकिन्छ? जस्ता विषयमा जानकारी दिइएको थियो ।
यसबाहेक, तालिममा जेष्ठ नागरिकहरूका लागि उपयुक्त दैनिक व्यायामहरू पनि प्रस्तुत गरिएको थियो जसले उमेर अनुसारको शारीरिक सक्रियता कायम राख्न सहयोग पुर्याउँछ। तालिममा सजिलो स्ट्रेचिङ (तनाव कम गर्न र लचिलोपन बढाउन), घाँटी र काँध घुमाउने अभ्यास (तनाव हटाउन), कुर्सीमा बस्दै खुट्टा उठाउने अभ्यास (खुट्टा बलियो बनाउन), एकै ठाउँमा हिँड्ने अभ्यास (रक्त सञ्चार सुधार गर्न), हात उठाउने र शरीर साइडतिर तान्ने अभ्यास (जोर्नीको लचिलोपन बढाउन), गहिरो श्वासप्रश्वास अभ्यास (तनाव घटाउन र फोक्सोको क्षमता बढाउन) बारे सुझाइएको थियो । यी व्यायाम घरमै सजिलै गर्न मिल्ने, कम प्रभाव पर्ने र उपकरण नचाहिने भएकाले जेष्ठ नागरिकहरूका लागि निकै उपयुक्त मानिन्छ।
कार्यक्रम बिहान १० बजे सुरू भई दिउँसो ३ बजे सम्पन्न भएको थियो । तमु समाज यूकेकी अध्यक्ष श्रीमती बिन्दु गुरुङ घलेले प्रशिक्षक गुरुङप्रति धन्यवाद व्यक्त गर्दै उनको समय, ज्ञान र सहयोगप्रति आभार प्रकट गरिन्।
तालिम कार्यक्रमका लागि बिग लटरी फन्डका समन्वयकर्ताहरू अवकाशप्राप्त कप्तान तेसरजंग गुरुङ (सचिव) र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ थिए ।
