अल्डरसट । चार भन्ज्याङ तमु समाज यूकेको १८औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन भव्य समारोहकाबीच सम्पन्न भएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको अधिवेशनले दुर्गा बहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । छैटौँ कार्य समितिमा उपाध्यक्ष रहेका गुरुङ सर्वसम्मत अध्यक्ष बनेका हुन् ।
नवनिर्वाचित सातौँ कार्य समितिको उपाध्यक्षमा अमर गुरुङ, महासचिवमा सुनिल गुरुङ, सहसचिवमा विजय गुरुङ, कोषाध्यक्षमा विमला गुरुङ र सहकोषाध्यक्षमा लालकाजी (आश्रम) गुरुङ चयन भए ।

यस्तै, सरुन गुरुङ कार्यक्रम संयोजक, हितमान घले युवा तथा खेलकुद सचिव, रवि गुरुङ सहसचिव, नर बहादुर गुरुङ सम्पत्ति विभाग प्रमुख, बुद्ध घले मनोरञ्जन सचिव, प्रकाश गुरुङ भोजन सचिव, श्रीमती अमला गुरुङ आमा प्रमुख, इन्द्र (लिडिया) गुरुङ आमा सचिव, मिना गुरुङ चेलीबेटी प्रमुख, रजनी गुरुङ चेलीबेटी सचिव, सन्तोष र विवेक गुरुङ बेब मास्टर चयन भएका छन् ।
क्षेत्रीय सचिवहरूमा चन्द्र बहादुर गुरुङ (अल्डरसट), बुद्ध गुरुङ (बेजिङ्स्टोक), आनन्द घले (रेडिङ), शारदा गुरुङ (लन्डन), बेन कुमार घले (प्लम्स्टेड), रमेश गुरुङ (केन्ट) र मान सिंह गुरुङ (स्विन्डन) रहेका छन्।

अध्यक्ष बेन कुमार गुरुङको अध्यक्षता सुरु भएको कार्यक्रममा समाजका दिवंगत सदस्यप्रती समाजका जेष्ठ नागरिक श्रीमती लक्ष्मी गुरुङले पानसमा राखिएको दिप बालेर श्रद्धाञ्जली अर्पण गर्दै मौन धारणा गरिएको थियो । संस्थापक अध्यक्ष, समन्वय समितिका पूर्वअध्यक्ष, सल्लाहकार, समाजका पूर्वअध्यक्ष, आमा समूह तथा युवाको उल्लेखनीय उपस्थिति थियो । वक्ताले छैटौँ कार्य समितिले सफलतापूर्वक कार्यकाल सम्पन्न गरी समाजमा महत्त्वपूर्ण योगदान पुर्याएकोमा धन्यवाद दिएका थिए ।

महासचिव अमर गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कमल गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो । प्रमुख सल्लाहकार तथा विधान संशोधन समितिका संयोजक क्या. कृष्ण बहादुर गुरुङले संशोधन गरिएका विधेयकका बुँदा प्रस्तुत गर्दै छलफलपश्चात् नयाँ विधानसमेत पारित गरिएको थियो ।
अध्यक्ष बेन कुमार गुरुङले आफ्नो कार्यकालका उपलब्धि पावर प्वाइन्टमार्फत प्रस्तुत गरेर सबैलाई जानकारी गराए । सो क्रममा उनले समाजका सम्पुर्ण अग्रज इष्टमित्र युथ नानीबाबु कार्समितिका सहकर्मी तथा सम्पूर्ण चार भन्ज्याङवासीहरूमा धन्यवादसहित कृतज्ञता प्रकट गरेका थिए । छैटौँ कार्य समितिको औपचारिक विघटन गर्दै दोस्रो चरणको कार्यक्रम सञ्चालनको जिम्मेवारी संस्थापक अध्यक्ष तथा निर्वाचन आयुक्त ले. नारायण प्रसाद गुरुङलाई हस्तान्तरण गरेका थिए ।
निर्वाचन प्रक्रिया प्रमुख आयुक्त नारायण गुरुङको संयोजनमा सम्पन्न भएको थियो। निर्वाचन मण्डलमा मे. कृष्ण गुरुङ, पूर्वअध्यक्ष मदन गुरुङ, तमु धिं यूकेका पूर्वअध्यक्ष ग्याम गुरुङ तथा आमा समूहकी पूर्वअध्यक्ष विमला गुरुङ रहेका थिए ।

नवनिर्वाचित अध्यक्ष दुर्गा गुरुङ र कार्य समितिलाई निर्वाचन आयुक्त तथा आमा समूहले खादा, फूल र पगरी ओढाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए । निवर्तमान अध्यक्ष बेन कुमार गुरुङ तथा अन्य सदस्यलाई समाजकी ज्येष्ठ नागरिक लक्ष्मी गुरुङले सम्मानपूर्वक बिदाइ गरेकी थिइन् ।