लन्डन । गत वर्ष जस्तै, घलेली क्रोगी लामा परिवार यूकेको वार्षिक भेटघाट तथा पितृ पूजाको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
शनिबार १२ जुलाई २०२५ का भएको कार्यक्रम शुभारम्भ कार्यवाहक अध्यक्ष रामचन्द्र गुरुङ र वरिष्ठ सल्लाहकार, समाजसेवी क्याप्टेन एकनारायण गुरुङले दियो प्रज्वलन तथा पितृ पूजासहित गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव राजबहादुर गुरुङले गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य, बधाई तथा शुभकामना आदानप्रदानको साथै, नेपालबाट यूके भ्रमणमा आएका गुरु कर्मा घलेलाई विशेष स्वागत गरियो । साथै, हालै नयाँ घर खरिद गर्ने, उच्च शिक्षा हासिल गर्ने परिवारजनहरूलाई बधाई तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा भाइ खलक, चेली–बेटी, छोरी–ज्वाइँ, भान्जा–भान्जीको बाक्लो उपस्थिति रहेको थियो । कोषाध्यक्ष उज्वलले खानपिनको उत्कृष्ट व्यवस्थापन गरे भने मिन साइलाले राफल ड्र कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रमलाई अझै रमाइलो बनाउँदै, गायिका प्रिया गुरुङ र आरसी पौडेलले सांगीतिक प्रस्तुतिमार्फत मनोरञ्जन दिए ।












