लन्डन । विश्व कीर्तिमानी आरोही तथा पूर्वगोर्खा सैनिक हरि बुढा मगर एमबीईले ग्रीसको सबैभन्दा अग्लो हिमाल माउन्ट ओलम्पस (२९१८ मिटर) सफल आरोहण गरेका छन् ।
मगरको समूहले ११ जुलाई २०२५ दिउँसो १२ बजे सफल आरोहण गरेको हो । क्रिस्टाकी रिफ्युजबाट सुरु भएको यात्रा झन्डै १० घण्टामा पूरा भएको थियो । यससँगै उनी माउन्ट ओलम्पस चढ्ने घुँडाभन्दा माथि दुवै खुट्टा गुमाएका पहिलो व्यक्ति बनेका छन् ।

आफ्नो साथी मारियोस जियानाकोउको निमन्त्रणामा यो आरोहण गरिएको बुढा मगरले जनाएका छन् । उनीहरूले १९ मे २०२३ मा सँगै सगरमाथा आरोहण गरेका थिए। त्यही दिन मारियोसले आफ्नो साथी जेसन निसनलाई गुमाएका थिए । साथीको सम्झनामा उनले कुकुरको नाम नै जेसन राखेका छन्, जसले पनि माउन्ट ओलम्पसको शिखर चुमेको बुढा मगरले जानकारी दिए ।
बुढा मगरका अनुसार जेसनको सपना पूरा गर्न र अपांगता भएका व्यक्तिहरूलाई प्रेरणा दिन यो आरोहण गरिएको हो । उनी भन्छन्, ‘म सपना पछ्याउँछु, कीर्तिमान होइन।’
पश्चिम नेपालको दुर्गम गाउँमा गोठमा जन्मेका हरि बुढा मगर साहस, दृढता र आशाका प्रतीकका रूपमा लिइन्छ । १९ वर्षको उमेरमा ब्रिटिस सेनाको गोर्खा ब्रिगेडमा भर्ती भएर उनले पाँच महाद्वीपमा १५ वर्ष सेवा गरे।

सन् २०१० मा अफगानिस्तानमा ब्रिटिस सेनाका तर्फबाट शान्ति स्थापनार्थ खटिएर जिम्मेवारी बहन गर्दै पेट्रोलका क्रममा अचानक विद्रोहीहरूले थापेको विद्युतीय धराप आईईडी टेक्दा विस्फोटमा परेर उनले दुवै खुट्टा गुमाए ।
घटनापछि मानसिक तनाव र दुःखका दिन बिताउँदै गर्दा हरिले आफ्नो जीवनलाई पुनर्निर्माण गर्ने निर्णय गरे । उनले कायकिङ, प्याराग्लाइडिङ, स्कीइङ, पौडी खेल्नेसहितका चुनौती सामना गरे ।
सगरमाथामा मानव पाइला राखेको ७०औँ वर्षगाँठ १९ मे २०२३ मा सफल आरोहण गरेर दुवै घुँडामाथि खुट्टा नभएका पहिलो व्यक्ति बन्ने ऐतिहासिक उपलब्धि हासिल गर्दै इतिहास रच्न सफल भए ।