अल्डरसट । ग्रेटर रश्मुर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले वेस्लेलीमा एकीकृत सामुदायिक बगैँचा बनाउन जग्गा प्राप्त गरेको छ ।
शुक्रबार ११ जुलाईमा एक समारोहबीच ग्रेन्जर पीएसीबाट जीआरएनसीका उपाध्यक्ष डा. विशाल गुरुङले जग्गाको चाबी लिएका हुन् । उक्त अवसरमा 'इन्टिग्रेटेड वेल्स्ली कम्युनिटी गार्डेन'को अनावरणसमेत गरिएको छ । औपचारिक उद्घाटन भने विभिन्न संरचना निर्माण भइसकेपछि गरिने उपाध्यक्ष डा. गुरुङले बताए ।
शुक्रबारको कार्यक्रममा रश्मुर बोरो काउन्सिलका मेयर क्यालम स्टुवर्ड, जीआरएनसी यूकेका सल्लाहकार तथा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, कोषाध्यक्ष मिलन रोका, बगैँचाका सहयोगी क्याप्टेन रिटार्यड विष्णु श्रेष्ठ, गार्डेन एक्स्पर्ट दिलबहादुर थापा, पीसीएसओ दुर्गा थापा, ट्रस्टी ग्यारी घले, क्यान इन्टरनेसनलको डा.बलराम ढकाल, गोविन्द बेल्वासे, गायक आरसी पौडेल र गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
यो सामुदायिक बगैँचाको लागि ग्रेन्जर टिमले पाँच वर्षका लागि जग्गा लिजमा दिएको हो । यो समयावधि थप्दै दीर्घकालीन बनाउने योजना छ । कोभिड महामारी र अन्य प्रशासनिक प्रक्रियाका कारण जग्गा प्राप्तिमा केही ढिलाइ भए पनि ११ जुलाई, शुक्रबार बगैँचाको चाबी प्राप्त भइसकेको उपाध्यक्ष डा. गुरुङले बताए । अब निर्माण कार्य अगाडि बढाइनेछ ।

सामुदायिक बगैँचामा लसुन, अदुवा, धनियाँ, खुर्सानी, सागसब्जीलगायत तरकारी उत्पादन गरिनेछ । यहाँ श्रम गर्ने स्वयंसेवकहरूले उत्पादनको केही हिस्सा लैजान सक्ने र बाँकी ग्राबहबमार्फत आवश्यक व्यक्तिहरूमा वितरण गरिने योजना रहेको छ ।
डा. विशाल गुरुङको संयोजनमा सञ्चालन गरिने परियोजनामा प्राप्त सहयोगबाट हालै केही ड्रमहरू किनिएको छ । अब छिट्टै बैठक बसेर शौचालय, टेन्ट, फूलबारी तथा अन्य संरचनाहरू निर्माण गरिनेछ । यो बगैँचा नेपाली समुदायका लागि मात्र नभई सबै स्थानीय बासिन्दाका लागि उपयोगी हुने विश्वास व्यक्त गरिएको छ । मानसिक तनाव कम गर्न चाहनेहरू, विद्यार्थीहरूका लागि अध्ययनको शान्त वातावरण तथा सामूहिक भेटघाटका लागि यो ठाउँ सकारात्मक केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
बगैँचाको निर्माणमा पीसीएसओ दुर्गा थापा, जीआरएनसीका निवर्तमान अध्यक्ष मानबहादुर गुरुङ तथा अन्य पूर्वअध्यक्षहरूको सक्रिय पहल र समन्वय रहेको छ । परियोजना सञ्चालनका लागि फानबोरो एयरपोर्ट फन्डबाट ५ हजार पाउन्ड, तत्कालीन काउन्टी काउन्सिलर तथा हाल एल्डरम्यान चार्ल्स चौधरीले काउन्टी काउन्सिलको ग्रान्टबाट १ हजार पाउन्ड र पूर्वकाउन्सिलर प्रवेश केसीमार्फत विलिङ्टन वार्डको ग्रान्टबाट थप १ हजार पाउन्ड सहयोग प्राप्त भएको पनि उपाध्यक्ष डा. गुरुङले जानकारी दिए ।

आगामी दिनमा पनि सहयोग गर्न सकिनेछ । जनाउँदै शारीरिक रूपमा सहयोग गर्न नसक्नेले बिउ, बेर्ना, मल आदि दिएर पनि योगदान दिन सक्नेछन् । बगैँचाको चाबी लिने कार्यक्रम समन्वयको जिम्मा आफूलाई दिएकोमा उपाध्यक्ष डा. गुरुङले जीआरएनसी यूकेकी अध्यक्ष लीला सेलिङ माबोलगायत सम्पूर्ण टिमप्रति आभार प्रकट गरे ।
यो परियोजना नेपाली समुदायको साझा प्रयासको प्रतिफल हो, जसले स्थानीय सरकार र समाजसँग सहकार्य गरेर सकारात्मक नमुना प्रस्तुत गरेको जीआरएनसी यूकेले जनाएको छ ।