लन्डन । गुरुङ (तमु) समुदायको कला, संस्कृति र आपसी सद्भावको संरक्षण तथा प्रवर्द्धनमा समर्पित गुरुङ सोसाइटी केन्ट युकेको आयोजनामा १८औं वार्षिक समर भेटघाट तथा बीबीक्यू कार्यक्रम आगामी शनिबार, २६ जुलाई २०२५ मा आयोजना हुने भएको छ ।
कार्यक्रम Godmersham & Crundale Village Hall, Canterbury Road, Godmersham, Kent, CT4 7DR मा हुनेछ । विगतका वर्षहरूझैं यस वर्ष पनि केन्टवासी गुरुङ समुदायबीच आपसी सद्भाव, एकता तथा मौलिक संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यले ग्रीष्मकालीन भेटघाट तथा बीबीक्यू कार्यक्रम आयोजना गर्न लागिएको गुरुङ सोसाइटी केन्ट युकेका अध्यक्ष गोलमान गुरुङले जानकारी दिए ।
कार्यक्रममा चर्चित गायक तिलक गुरुङ र गायिका पवित्र गुरुङले विशेष सांगीतिक प्रस्तुति दिनेछन् । साथै, परम्परागत छेलो प्रतियोगिता, सांस्कृतिक प्रस्तुति, पारिवारिक रमाइलो खेलहरू तथा राफल ड्र जस्ता विविध मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन गरिनेछ।
कार्यक्रम बिहान ११:०० बजेबाट सुरु भई साँझ ८:०० बजेसम्म विविध गतिविधिसहित भव्य रूपमा सञ्चालन हुनेछ ।

कार्यक्रमको सम्पूर्ण संयोजन समाजकी प्रथम उपाध्यक्ष ममता गुरुङको नेतृत्वमा सम्पन्न हुँदैछ। उनको कुशल संयोजन र सक्रिय सहभागितामा कार्यक्रमको तयारी तीव्र गतिमा अगाडि बढिरहेको आयोजक समितिले जनाएको छ । कार्यक्रमले केन्टवासी गुरुङ (तमु) समुदायबीच आपसी भेटघाट, सामाजिक सौहार्द, सांस्कृतिक अभिव्यक्ति र सम्बन्ध सुदृढीकरणको सुनौलो अवसर प्रदान गर्ने आयोजकको विश्वास रहेको छ ।
गुरुङ सोसाइटी केन्ट युकेका अध्यक्ष गोलमान गुरुङ र महासचिव पवित्रा गुरुङले केन्टमा बसोबास गरिरहेका सम्पूर्ण गुरुङ (तमु) आमाबुवा, दाजुभाइ, दिदीबहिनी, छोराछोरी तथा भान्जा-भान्जीहरूलाई सपरिवार सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन अनुरोध गरेका छन् ।
