स्विन्डन । मगर महिला संघ यूकेको स्विन्डन शाखाले ब्रेस्ट क्यान्सर च्यारिटीका लागि २२ सय ५३ पाउन्ड सहयोग संकलन गरेको छ।
संघले परोपकारी उद्देश्यले आयोजना गरेको एक महिनाको अभियानमा दौड, साइकलिङ र हिँडाइ (वाकिङ) गरेर सो रकम संकलन गरेको हो । १ जुनदेखि ३० जुन २०२५ सम्म सञ्चालन गरिएको अभियानमा सहभागीहरूले कुल ९२९ किलोमिटर दूरी पार गरेका थिए । प्रारम्भमा ७०० किलोमिटरको लक्ष्य राखिएको भए तापनि यो लक्ष्य पार गर्दै अभियानले उल्लेखनीय उपलब्धि हासिल गरेको हो ।
अभियानको नेतृत्व संघकी अध्यक्ष सरस्वती थापा मगरले गरेकी थिइन्। उनका साथै मालती थापा मगर, अन्जु राना मगर, ज्ञानु थापा मगर, सनम पुन मगर, रिमा पचभैया मगर र रोजी तिलिजा मगर सक्रिय रूपमा सहभागी थिए।
अध्यक्ष थापा मगरका अनुसार संघले प्रारम्भमा २ हजार पाउन्ड संकलन गर्ने लक्ष्य राखेको थियो । तर समुदायको उत्साहजनक साथले लक्ष्य नाघ्न सफल भयो । उनले बताएअनुसार यो उनको पाँचौँ वर्षको परोपकारी अभियान हो । यसअघि उनले Dementia, Great Ormond Street Hospital, Macmillan Cancer र Mental Health जस्ता संस्थाहरूका लागि पनि च्यारिटी संकलन गरिसकेकी छन्।
अभियान सफलतापूर्वक सम्पन्न भएपछि अध्यक्ष थापा मगरले बेलायतमा रहेका नेपाली समुदायका दाजुभाइ, दिदीबहिनी, मित्रहरू र कार्यस्थलका सहकर्मीहरूबाट प्राप्त साथ, सहयोग र प्रेरणाप्रति आभार व्यक्त गरिन् ।
