लन्डन । तमुधीं यूकेले आगामी २४ अगस्ट २०२५ मा आयोजना गर्ने १६औँ नेपाली मेलामा कुलमान घिसिङ बेलायत आउने भएका छन् ।
तमुधीं यूकेका उपाध्यक्ष तथा मेला संयोजक कमल गुरुङले यस पटकको नेपाली मेलामा विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङलाई निमन्त्रणा दिएको जानकारी दिए । नेपाली मेला २४ अगस्ट आइतबार क्याम्पर्टन पार्कमा हुँदै छ ।
घिसिङले गोर्खा मिडियासँग कुरा गर्दै आफू १० वा ११ अगस्टमा अमेरिकाबाट सिधै यूके प्रस्थान गर्ने जानकारी दिए । उनले भने, 'मलाई निमन्त्रणा आएको छ । म १०/११ तारिखमा अमेरिकाबाटै सिधै यूके आउँछु । २४ को नेपाली मेलासम्म बस्ने छु ।'
नेपाली दूतावास लन्डनको सहकार्यमा हुने नेपाली मेला तयारी भइरहेको कार्यक्रम संयोजक गुरुङले बताए । नेपालका विभिन्न जातजातिको संस्कृति, भेषभूषा र परम्परा चिनारी गराउन हरेक वर्ष तमुधीं यूकेले मेला आयोजना गरिँदै आएको बताए ।
मेलामा सांस्कृतिक झाँकी, मौलिक नाचगान, एम्बासडर कप र एनआरएनए कप प्रतियोगिता हुने छन् । विजेता टोलीलाई नगद तथा आकर्षक पुरस्कार दिइनेछ ।
मेलामा ६/७ वटा रेस्टुरेन्टमार्फत नेपाली खानाका परिकार, नेपाली कपडाका स्टल, गहना र अन्य सामग्रीका स्टलहरू साथै नेपाली व्यवसाय प्रवर्द्धनका स्टलहरू रहनेछन् । गत वर्ष ९० हाराहारी स्टल राखिएको जनाउँदै उहाँले बेलायतमा नेपाली व्यवसायी बढेकाले स्टलहरु पनि बढ्ने अनुमान रहेको बताए ।
मेलामा प्रस्तुति दिन नेपालबाट थुप्रै कलाकार आउनेछन् भने नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको विशेष उपस्थिति रहने तमुधीं यूकेले जनाएको छ । मेला बिहान १० देखि राति ८ बजेसम्म सञ्चालन हुनेछ । टिकट शुल्क ५ पाउन्ड तय गरिएको छ । तर ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिने छ ।
संयोजक गुरुङले सबै नेपाली संघसंस्था र समुदायलाई झाँकी तथा मौलिक नाच लिएर सहभागिता जनाउन आग्रह गरेका छन् ।
मेलाको नारा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ तय गरिएको छ । गोर्खा प्यालेसले खाना व्यवस्थापन गर्नेछ ।