वेल्स । बेलायतमा नेपाललाई चिनाउने र मनोरञ्जनात्मक तथा शैक्षिक केन्द्र बनाउने उद्देश्यसहित सञ्चालित नेपाली भिलेज युकेको मंगलबार १ जुलाई २०२५ देखि सेयर बिक्री खुला गरिएको छ ।
परियोजनाको बाँकी चरणको लक्ष्य प्राप्तिका लागि कम्तीमा ३ सय सेयर बेच्ने लक्ष्यसहित सार्वजनिक रूपमा सेयर बिक्री खुला गरिएको हो । प्रतिसेयर मूल्य ५ हजार ५०० पाउन्ड तोकिएको छ ।
परियोजना परिसर नजिकैको २२ कोठे भवन खरिदका लागि अन्तिम पटक सेयर बिक्री खुला गरिएको नेपाली भिलेज यूकेका प्रमुख निर्देशक मेजर खुशीमान गुरुङ एमभीओले गोर्खा मिडियालाई जानकारी दिए । यसअघि करिब दुई जनाले २९३ सेयर खरिद गरिसकेका छन् ।
यसपटकको सेयर बिक्री अभियानको शुभारम्भ भने स्कटल्यान्डमा २३ जूनमा आयोजित ‘नेपाली मेला-२०२५’मा गरेको थियो ।

नेपाली भिलेज यूके समुदायमा आधारित व्यावसायिक र दीर्घकालीन परियोजना हो । यो बेलायतमा मात्र नभई यूरोपकै यस प्रकारको पहिलो परियोजना रहेको प्रमुख निर्देशक मेजर गुरुङले बताए । बेलायतमा रहेका नेपालीहरूले धेरै पहिलेदेखि नै बिदा मनाउने तथा मनोरञ्जनात्मक गतिविधि गर्नका निम्ति नेपाल झल्किने आफ्नै थलो होस् भन्ने चाहना राख्दै आएका थिए । यसैका कारण ‘नेपाली भिलेज’ निर्माणको अवधारणा जन्मिएको उनले जनाए । नेपाली भिलेजमा जोकोहीले आफ्नो व्यस्त दैनिकीबाट छोटो विश्राम लिएर छुट्टी मनाउन वा ग्रामीण क्षेत्रको अनुभवसहित रमाइलो गर्न सक्ने छन् ।
नेपाली भिलेजमा बुद्धको जन्मभूमि लुम्बिनी, सगरमाथा, ठूलो चौतारी, ऐतिहासिक ढुंगेधाराहरू, धरहरा, पशुपतिनाथ, बौद्धनाथ, १०८ धारालगायतका नेपालका प्रख्यात स्मारकका साथै ध्यान केन्द्र, होटल, विवाह तथा अन्य कार्यक्रम गर्नका लागि सुविधासम्पन्न हल, पूजा, मेला तथा विभिन्न चाडपर्व आयोजनाका लागि समेत सुविधा पाइने छ ।
यस परियोजनाले सात समुद्रपारि पनि नेपाल र नेपालीको मौलिक पहिचान तथा कला संस्कृति झल्काउन मद्दत पुगोस् भन्ने ध्येय लिएको भन्दै मेजर गुरुङले ग्रामीण नेपालको झझल्को आउने आभाष हुने गरी बिदा मनाउने स्थानको निर्माण गरिने जानकारी दिए ।

मिड वेल्स बेलायतमा निर्माणाधीन ‘नेपाली भिलेज’ शान्त वातावरणमा स्थानीय तथा नेपाली संस्कृतिबारे जान्न र ग्रामीण नेपाली गाउँको स्वाद अनुभव गर्न पाउने र फुर्सदको समय बिताउन सक्ने ठाउँ पनि बन्ने छ । भिलेजका लागि मिड वेल्समा जग्गा खरिद गरिसकेको छ । जुन नेपालको पहाडी र हरियाली परिदृश्यसँग मिल्दोजुल्दो साइट किन्न (१९३ रोपनी जग्गा सन् २०२३ सालमा खरिद गरिसकिएको छ ।)
मेजर गुरुङले जग्गा खरिद गर्ने, स्थानीय प्लानिङको स्वीकृति नचाहिने मर्मत कार्य साथै प्लानिङ तयारी गरी स्थानीय निकायमा पेस गर्ने कार्य पूरा भइसकेको जनाए । प्लानिङ अनुमति हासिलपछि नयाँ प्रवेशद्वार, कार पार्क, ठूलो चौतारी, पोखरी, ऐतिहासिक ढुङ्गेधाराहरू, नेपाली र वेल्सशैलीको छुट्टी मनाउने घर, प्रदर्शनी हल (नेपाली र वेल्स संस्कृति र कलाकृतिहरू प्रदर्शन गर्न), कार्यालय, क्याफे र जैविक फार्म निर्माण गरिनेछ । पैदलयात्रा गर्ने सुविधासहित नेपाल र वेल्सका प्रमुख स्मारकहरू र मठमन्दिरहरूको रिप्लिका (प्रतिकृति)हरू निर्माण गरी एउटा आकर्षक केन्द्र स्थापना गरिनेछ । साथै परिसर छेउमा रहेको ध्यान केन्द्र खरिद गरी होटल, विवाहलगायतका सभा समारोह स्थल, तालिम तथा सेमिनार हल, ध्यान केन्द्रको रुपमा उपभोग गर्ने योजना छ ।

परियोजना निर्देशक तथा व्यवस्थापन समितिमा मेजर खुशीमान गुरूङ एमभिओ अध्यक्ष तथा प्रबन्ध निर्देशक, मानप्रसाद गुरूङ उपाध्यक्ष, लोकेन्द्रराज श्रेष्ठ कोषाध्यक्ष, टिकाराम गुरूङ सचिव, बिरबिक्रम भट्टराई प्रवक्ता, क्या. सूर्यप्रकाश गुरूङ अपरेशन, कोलिन प्रिस प्लानिङ, जशु गुरूङ मशेंस मार्केटिङ्, शेरबहादुर गुरूङ, मे. सोभितबहादुर हमाल ठकुरी एमभीओ, मधु गुरूङ, नन्दबहादुर बयाम्बू मगर, गंगाप्रसाद गुरूङ, डम्बरबहादुर सुनुवार र अधिवक्ता बालकृष्ण गुरूङ कानुनी सल्लाहकार रहेका छन् ।
