लन्डन । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ इंग्ल्यान्डको चाथम सहरको ऐतिहासिक डकयार्डमा आयोजित ‘मेडवे आर्म्ड फोर्सेस डे'मा सहभागी भएका छन् ।
काउन्सिलर नीना गुरुङको निमन्त्रणामा अध्यक्ष गुरुङ शनिबार २८ जून २०२५मा आयोजित ‘मेडवे आर्म्ड फोर्सेस डे'मा सहभागी भएका हुन् । काउन्सिलर गुरुङले ‘मेडवे आर्म्ड फोर्सेस डे'मा अध्यक्ष जुमकाजी गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताइन् ।

‘मेडवे आर्म्ड फोर्सेस डे'कार्यक्रम सेनामा कार्यरत व्यक्ति, भूतपूर्व सैनिक, क्याडेटहरू र तिनीहरूका परिवारहरूको सम्मानका लागि आयोजना गरिन्छ । यो विशेष दिवसमा आयोजना गरिएको सैनिक परेड, लाइभ संगीत, ब्यान्ड र सांस्कृतिक प्रस्तुति, सेनाको उपकरण, सवारी साधन र गतिविधिको प्रदर्शनी, खेल, रमाइलो गतिविधि अध्यक्ष गुरुङले अवलोकन गरेका थिए ।
तमु धीं अध्यक्ष गुरुङले कार्यक्रमको दौरनमा मेडवे काउन्सिलका लिडर र डिपुटी लिडर डिपुटी लेफ्टिनेन्ट ब्रिगेडियर पिटर गिल्बर्ट QVRM TD VR सांसद लेरेन ऐडवर्डस्, केन्ट काउन्टीका उच्च शेरिफ, मेडवका मेयर, क्याबिनेटका सदस्य, काउन्सिलर, विशिष्ठ अतिथि, सेवारत सेना र भेट्रेन, आर्म फोर्सेस च्यारिटी, कम्युनिटी समूह, आर्म फोर्सस परिवारहरुसँग भेटघाट गरेका थिए ।

गुरुङले ऐतिहासिक डकयार्ड चाथमको प्रदर्शनी, विश्व युद्ध विनाशक जहाज एचएमएस क्याभलियर, अग्लो जहाज एचएमएस ग्यानेट, एचएमएस असलट पनडुब्बी र रोएल नेश्नल लाइफबोट इन्सिट्यूसनको पनि अवलोकन गरे ।
तमु धीं अध्यक्ष स्वयं पनि क्वीन्स गोर्खा इन्जिनियर्सका एक भेटेरान गोर्खा सैनिक हुन् । भेटघाटमा गोर्खाहरु प्रति ब्रिटिसहरुले देखाएको सद्भाव प्रति गुरुङले खुशी व्यक्त गरे ।