लन्डन । नेपाली दूतावास लन्डनले बेलायतको स्कटल्यान्डमा पहिलोपटक ‘नेपाली मेला २०२५’ आयोजना गरेको छ ।
सोमबार जुन २३ का दिन वेष्ट प्रिन्सेस स्ट्रिट गार्डेन्स् एडिनवर्ग नेपाली मेला भव्य र सभ्य रुपमा सम्पन्न भएको हो । नेपाली कला, संस्कृति, भाषा, भेषभूषा र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले जानकारी दिए ।
मेलामा परम्परागत नेपाली नृत्य, लोकगीत, पहिरन, परिकार, हस्तकला तथा पर्यटन सूचना केन्द्र लगायतका विविध कार्यक्रमहरू प्रस्तुत गरिएको थियो । यस्तै बालबालिकाका लागि रमाइला खेलकुद तथा गतिविधिहरू पनि सञ्चालन थिए ।
राजदूत घिमिरेले पहिलोपटक स्कटल्यान्डमा नेपाली मेला गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा बेलायतका अन्य सहरहरूमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने बताए ।
कार्यक्रममा गायिका सुनिता दुलाल, धिरज राई, भूमिका शाह र स्थानीय कलाकारले गीत/संगीत प्रस्तुत गरेका थिए ।
दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीलगायत दूतावासका अधिकारीहरूले मेलास्थलमै राहदानी तथा कन्सुलर सेवा उपलब्ध गराएका थिए । दुवाडीले आगामी दिनमा पनि यस्ता सेवालाई निरन्तरता दिने बताए ।
स्थानीय नेपाली संघसंस्थाहरूको समन्वय रहेको मेलामा स्कटल्यान्डका कानुनमन्त्री तथा वरिष्ठ राजनीतिज्ञलगायत बेलायतका विभिन्न क्षेत्रबाट नेपाली समुदायको उत्साहजनक उपस्थिति रहेको थियो
मेलामा खाना स्टल, हस्तकलालगायत नेपाली उत्पादनको शो केस, आआफ्नो समुदायको झाँकी, पन्चेबाजासहित सांस्कृतिक प्रस्तुति, नेपाल चिनाउने सामग्री वितरणलगायत पनि भएका थिए ।