लन्डन । हालै सम्पन्न २३औँ गोर्खा कपको समीक्षा र अगस्टमा हुने नेपाली मेला २०२५ को तयारीसम्बन्धी बैठक सम्पन्न भएको छ ।
मिचेटस्थित तमु धीं यूकेको आफ्नै भवनमा आइतबार सम्पन्न बैठकमा तमु धींका पदाधिकारी, समिति सदस्य तथा विभिन्न इकाइका प्रतिनिधिको उपस्थिति थियो ।

सुरुआतमा महासचिव डा. विशाल गुरुङले स्वास्थ्य तथा सुरक्षासम्बन्धी जानकारी गराएका थिए । वरिष्ठ उपाध्यक्ष परशुराम गुरुङले स्वागत मन्तव्य राखेका थिए । त्यसपछि खेलकुद सचिव क्याप्टेन दीपक घलेले पावर प्वाइन्टमार्फत गोर्खा कपबारे प्रस्तुति दिएका थिए । उनले प्रतियोगिताका सबै पक्षको समीक्षा गर्दै आगामी वर्ष अझ व्यवस्थित तरिकाले आयोजना गर्ने योजनाबारे जानकारी दिए ।
उपाध्यक्ष कमल गुरुङले भीआईपीबारे र उपाध्यक्ष दिलमाया गुरुङले स्टलबारे जानकारी गराएका थिए । त्यसपछि कोषाध्यक्षले आयव्ययबारे जानकारी गराएका थिए । इकाइका अध्यक्षहरू र गोर्खा कपको कोअर्डिनेटरहरू सबैले आ-आफ्नो भनाइ राखेका थिए ।

त्यसपछि स्वागत तथा सम्मान कार्यक्रम भएको थियो । गोर्खा कप भव्य बनाउन नेतृत्व गर्ने क्याप्टेन दीपक घलेलाई फेटा र खादाले सम्मान गरिएको थियो । साउथ इस्ट रिजनलका नवनिर्वाचित अध्यक्ष शिवराम गुरुङ बीईएम र उनका श्रीमतीलाई फेटा फूलको गुच्छाले सम्मान गरियो ।
मार्सल आर्टसमा दुई वटा अन्तर्राष्ट्रिय स्वर्ण जित्ने सरिना घले तथा हालै मात्र प्राइड अफ रश्मूर कम्युनिटी अवार्ड प्राप्त गर्ने गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई सम्मान गरिएको थियो । नेपाली ओम लामालाई पनि सम्मान गरियो ।

यसैगरी, तमु धींको निमन्त्रणामा यूके भ्रमणमा आएका नेपाली उद्यमी अरुण गुरुङलाई बिदाइ पनि गरियो । उनले तमु धींका अध्यक्ष जुमकाजी गुरुङलाई मायाको चिनो प्रदान गरे ।
सहारा यूकेका अध्यक्ष लन्डन इकाइका अध्यक्ष, आमा समूहका अध्यक्ष कमलादेवी, धप्पुस समाज यूकेका अध्यक्ष कुमार गुरुङलाई मायाको चिनो दिएका थिए ।

दोस्रो सेसनमा उपाध्यक्ष कमलले नेपाली मेलाबारे पावर प्वाइन्टमार्फत जानकारी गराए । बैठकको अन्त्यमा अध्यक्ष जुमकाजी गुरुङले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै बैठक सम्पन्न गरेका थिए ।
