लन्डन । ईलमपोखरी समाज यूकेको वार्षिक समर भेटघाट भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रम १४ जून, शनिबारका दिन अल्डरसटस्थित अल्डरउड लेजर सेन्टरमा भएको हो । कार्यक्रमको प्रमुख आतिथ्य लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङ रहेका थिए ।
सुरुमा खेलकुद कार्यक्रम भएको थियो । समाजका सल्लाहकार रुद्र गुरुङको संयोजनमा भएको खेलकुदमा वयस्क, युवा र १२ वर्षमुनिका युवाको सहभागिता थियो । महिलाका लागि भने सहसचिव कुमार गुरुङको संयोजनमा रमाइलो फन गेम आयोजना गरिएको थियो ।
खेलकुद कार्यक्रम सम्पन्न भएपछि औपचारिक कार्यक्रम सुरु भयो, जसको सञ्चालन समाजका सचिव प्रकाश गुरुङले गरेका थिए । प्रारम्भमा सहसचिव कुमार गुरुङले सुरक्षासम्बन्धी जानकारी गराए ।

प्रमुख अतिथि पूर्णराज गुरुङ, अध्यक्ष परशु गुरुङ, विशिष्ट अतिथि लमजुङ समाज यूकेकी आमा समूह अध्यक्ष तारा गुरुङ, क्याप्टेन रिटायर्ड रणबहादुर गुरुङ र संस्थापक अध्यक्ष मोहनसिंह गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै उद्घाटन गरेका थिए । त्यसपछि नेपाल तथा बेलायतको राष्ट्रिय धुन बजाइए लगत्तै उपाध्यक्ष बुद्धिराम गुरुङले स्वागत मन्तव्य राखे ।
खेलकुदका विजेतालाई प्रायोजकहरूको सहयोगमा पुरस्कार वितरण गरिएको थियो । समाजमा हालै आबद्ध भएका सदस्यलाई अध्यक्ष परशु गुरुङले खादा लगाएर स्वागत गरे ।
अन्य विभिन्न संघसंस्थामा अध्यक्ष पदमा रही सफल कार्यकाल सम्पन्न गरेका दलबहादुर गुरुङ (लमजुङ समाज यूके), रुद्र गुरुङ (रेडिङ तमु समाज यूके), पदम गुरुङ (तमु कलाकार सांस्कृतिक मञ्च यूके) र माला घले (लमजुङ समाज यूके आमा समूह) लाईसमेत अध्यक्ष परशु गुरुङ र धर्मपत्नी नन्दा गुरुङले खादा लगाएर सम्मान गरे ।
-1750068454.jpg)
लमजुङ समाज यूकेको सातौँ कार्यसमितिमा चयन भएका ईलमपोखरी समाजका सदस्यलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्णराज गुरुङ, उनकी धर्मपत्नी जमुना गुरुङ, आमा समूह अध्यक्ष तारा गुरुङ, हालै क्याप्टेन पदमा पदोन्नति भएका गणेश गुरुङ क्यूओजीएलआर र उनकी धर्मपत्नीलाई विशेष सम्मानसाथ पगरी, खादा र पुष्पगुच्छा अर्पण गरिएको थियो ।
चेल्सी इन पेन्सनर्समा आबद्ध हुने पहिलो नेपाली हर्कमान गुरुङलाई पनि सो अवसरमा सम्मान गरिएको थियो । यो ऐतिहासिक उपलब्धिको कदर गर्दै समाजले उनलाई विशेष सम्मान प्रदान गरेको थियो ।
नेपालबाट आएका अतिथि कलाकार अनुपा मगर र आश्रम गुरुङलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरिएको थियो । साथै, गोरखा किचनका प्रोप्राइटर भीम गुरुङलाई समाजलाई निरन्तर सहयोग गर्दै आएको कदरस्वरूप खादा र प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो। गोरखा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु गुरुङलाई पनि सम्मान गरिएको थियो ।
-1750068482.jpg)
कार्यक्रमको अन्तिममा सांस्कृतिक सचिव गजबहादुर गुरुङको संयोजनमा बाह्रमासे घाँटु, स्थानीय नानीहरूको नृत्य र वयोवृद्ध नौराज गुरुङको खुकुरी नाच प्रस्तुत गरिएको थियो । अतिथि कलाकार अनुपा मगर र आश्रम गुरुङको जीवन्त सांगीतिक प्रस्तुतिमा उपस्थित दर्शकहरू नाचेका थिए ।
अन्त्यमा अध्यक्षले सहयोगी, अतिथि, आयोजक, प्रायोजक र सहभागीहरूलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरे । कार्यक्रम बिहान १२ बजे सुरु भई राति ११ बजे समापन भएको थियो ।
-1750068503.jpg)