काठमाडौँ । भूतपूर्व गोर्खा सैनिकले वंशजका आधारमा प्राप्त नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा राज्यव्यवस्था समितिको आजको बैठकमा भूपू गोर्खा सैनिकका प्रतिनिधिले आफूहरूले नयाँ नभई भएकै नागरिकताको निरन्तरता चाहेको धारणा राखेका हुन् ।
भूपू गोर्खा कृष्णकुमार राईले आफूहरूले उठाएको नागरिकतासम्बन्धी विषय बेलायत सैनिकमा नेपाली युवाको भर्ती बन्द गर्ने कि नेपाली नागरिकताले निरन्तरता पाउने भन्ने रहेको बताए ।
भूपू गोर्खा सैनिकले बेलायती सेनामा गरेको योगदान स्वरूप नेपाललाई वार्षिक करिब २१ करोड बेलायती मुद्रा प्राप्त भइरहेको जानकारी दिँदै उनले राज्यको सम्झौताअनुरूप बेलायती सेनामा भर्ना भएका युवाको नागरिकताले निरन्तरता नपाउने विषय मानव अधिकारको मूल्यमान्यता विपरीत रहेको धारणा राखे ।
अहिले बेलायती सेनामा करिब तीन हजार ५०० नेपाली युवा कार्यरत छन् । करिब २२ हजार भूपू गोर्खा रहेका छन् । ‘बेलायती सेनामा रहेर अन्य देशसँगको युद्धमा मारिए बेलायती हुने, बाँचेर फर्केर नेपाली हुने अवस्था सच्याउन आवश्यक छ । त्यसबारे नेपाल र बेलायतबीचबीच संवाद आवश्यक छ,’उनले भने ।
सन् १८१४ देखि हालसम्म करिब २१० वर्षदेखि बेलायत र नेपालबीच बेलायती गोर्खा सैनिकले मित्रताको पुलका रूपमा काम गरिरहेकाले त्यहाँका राहदानी र बसोबासको अनुमति लिन रहरले नभई बाध्यताको उपज भएको भूपू गोर्खा होम किराती सुनुवारले बताए ।
अर्का भूपू गोर्खा हिमाल राईले बेलायती सेनामा होनहार युवा जनशक्तिकै योगदानका कारण बेग्लै कुनै आर्थिक लगानीबिना नेपालमा पानीको मुहानजस्तै निरन्तर पाउन्ड प्राप्त गरेको पक्षलाई ध्यान दिँदै वंशजको नागरिकताको निरन्तरतामा जोड दिए ।
नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयका सम्बन्धमा ब्रिटिस गोर्खा सैनिकसँग समितिले आज छलफल गरेको हो । समितिले उनीहरूले उठाएका मुद्दाका सम्बन्धमा सुझावसमेत लिएको छ ।