लन्डन । ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले शनिबार ७ जुनमा अल्डरसटमा मनाउन लागेको 'भिक्टोरिया डे'को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
बिहीबार ५ जूनमा आयोजित जुम मिटिङमा जीआरएनसी यूकेकी अध्यक्ष लीला सेलिङ माबो र कार्यक्रम संयोजक जीत मेन्याङ्बोले कार्यक्रमको सबै तयारी पूरा भएको ब्रिफिङ गरेका हुन् । महासचिव ले रि सुनील रानाले सञ्चालन गरेको बैठकमा विभिन्न जिम्मेवारी पाएका कार्यसमितिका पदाधिकारी र सदस्यहरुले कार्यप्रगति विवरण सुनाएका थिए ।
७ जूनमा कार्यक्रम जुधेकोले लमजुङ समाज यूके, स्याङ्जा समाज यूकेले परेडमा सहभागी हुन नपाउने जानकारी गराएको र अन्य संघसंस्था सबैले परेडमामा सहभागी हुने बताएको आयोजकले बताएका छन् । कार्निभलमा नेपाली मुलको विभिन्न मौलिक संस्कार, संस्कृति र पहिचान झल्काउने लुगा, गरगहना, बाजा र नृत्यसहित संघ सस्थाहरु सहभागी हुँदैछन् ।
कार्यक्रम बिहान १० देखि दिउँसो ४ बजेसम्म हुनेछ । नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । रश्मोर क्षेत्रको अति आकर्षक कार्निभल रानी भिक्टोरिया दिवस जीआरएनसी यूकेले हरेक वर्ष मनाउँदै आएको छ । जीआरएनए यूकेको अध्यक्षको जिम्मेवारी दुई हप्ता अघिमात्रै लिला सेलिङ माबोले लिएकी हुन् । उनी जीआरएनसी यूकेको इतिहासमा पहिलो महिला अध्यक्ष हुन् । जीआरएनसी यूके सन् २००३ मा स्थापना भएको हो ।
नेपाली कल्चर पहिचान प्रदर्शनको साथ जन्मभूमि नेपालको निम्ति पर्यटन प्रवर्द्धनमा केही टेवा पुर्याउने उद्देश्यसहित कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष माबोको भनाइ छ । प्रथम नौमती बाजा गुल्मी यूके समूहको नौमती धुन साथै च्याम्रुङ, सोरठी, भजन, घाटु, कौडाको साथ नेपाली झाँक्री प्रदर्शन गरिनेछ । जीआरएनसीले कार्यक्रममा सहभागी हुन बेलायतवासी संघ संस्था र नागरिकलाई अपिल गरेको छ ।