ब्रेकन, लन्डन । नेपाली भिलेज यूकेको तेस्रो साधारणसभा ब्रेकनमा भव्य रुपमा सम्पन्न भएको छ ।
ब्रेकनस्थित गिल्डहलमा शनिबार ३१ मे २०२५ नेपाली भिलेज यूकेको साधारणसभा सम्पन्न भएको हो । सभामा केही शेयरहोल्डरहरूको प्रत्यक्ष सहभागिता रहँदा अधिकांशले जुममार्फत सहभागिता जनाएका थिए।
कार्यक्रमको सञ्चालन निर्देशक मधु गुरुङले गरेका थिए भने सचिव टिकाराम (जीवन) गुरुङले संस्थाअन्तर्गत वर्षभरि सम्पन्न गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गरे । त्यसैगरी, फाइनान्स डाइरेक्टर लोकेन श्रेष्ठले आर्थिक विवरण प्रस्तुत गरेका थिए ।

नेपाली भिलेज यूकेका प्रमुख मेजर खुशीमान गुरुङ एमभीओले परियोजनासम्बन्धी उपलब्धि प्रस्तुत गर्दै हालसम्मको प्रगति र आगामी योजनाहरूको जानकारी दिए । उनका अनुसार, नेपाली भिलेज यूकेको मुख्य परियोजनाका लागि स्थानीय निकायमा प्लानिङ परमिसन प्रक्रिया जारी रहेको छ ।
उक्त अवसरमा हाल संचालनमा रहेको बुद्धिस्ट रिट्रीट सेन्टर ‘अबरक्ल्याड हाउस’, जो नेपाली भिलेज यूकेको ठीक अगाडि अवस्थित छ, करिब दुई वर्षदेखि बजारमा बिक्रीका लागि खुला रहेको र हाल यसको मूल्य घटाएर १.१ पाउन्ड मिलियन (एघार लाख पाउन्ड)मा झरेको हुँदा नेपाली भिलेज यूकेको तर्फबाट उक्त घर/सम्पत्ति खरिद गर्ने तयारी भइरहेको जानकारी दिइयो । उक्त प्रोपर्टी खरिदबाट परियोजनाले अपेक्षित समयभन्दा छिटो व्यावसायिक प्रगति गर्ने अपेक्षा गरिएको छ।
सभामार्फत सम्पूर्ण शेयरहोल्डरहरूको सल्लाह र सहमतिमा परियोजनाको तेस्रो चरणको शेयर क्याम्पेन यही जुलाई १ तारिखदेखि सुरु गर्ने निर्णय पनि गरेको प्रमुख मेजर खुशीमान गुरुङ एमभीओले जानकारी दिए । उक्त क्याम्पेन यूकेका विभिन्न सहरहरूमा आयोजना गरिने छ भने हालका २९३ जना शेयरहोल्डरहरूलाई थप शेयरका लागि प्राथमिकता दिने व्यवस्था गरिनेछ ।

हाल परियोजनामा शेयरहोल्डरहरूका लागि मात्र सञ्चालनमा रहेको हलिडे होम सेवा निकट भविष्यमा आम सर्वसाधारणका लागि पनि खुला गर्ने तयारी भइरहेको छ । साथै, परियोजनाको जग्गामा अर्गानिक फार्म सञ्चालन गर्दै नेपाली सागपात र विभिन्न पुष्पजन्य बिरुवा रोपेर वातावरणीय सौन्दर्य वृद्धि गर्ने योजना पनि अघि सारिएको छ।
नेपाल र नेपाली समुदायका लागि दीर्घकालीन सोचसहित अघि बढिरहेको नेपाली भिलेज यूकेको यो पहलले बेलायतस्थित नेपालीहरूको सामाजिक, सांस्कृतिक र आर्थिक पहिचान बलियो बनाउन र नेपाल र वेल्सको पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
स्मरण रहोस्, यस परियोजनाको मुख्य उद्देश्य मिड वेल्स, बेलायतमा ‘नेपाली भिलेज’ निर्माण गर्नु हो । जून मनोरञ्जनात्मक तथा शैक्षिक केन्द्रका रूपमा स्थापित हुने छ । जहाँ शान्त वातावरणमा छुट्टी मनाउने र स्थानीय तथा नेपाली संस्कृतिबारे जान्न र ग्रामीण नेपाली गाउँको स्वाद अनुभव गर्न पाउने र विभिन्न सुविधायुक्त ठाउँ पनि हुने जनाइएको छ ।
