लन्डन । गीतकार, साहित्यकार, गायक एवं संगीतकार गणेश रसिकको निधन भएको छ । उनी ७८ वर्षका थिए । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा उनको आइतबार बिहान निधन भएको संगीतकार बुलु मुकारुङले जानकारी दिएका छन् । रसिकको बिहान साढे ११ बजेतिर निधनको हो ।
रसिकको शव आज त्रिवि शिक्षण अस्पतालमा राखिनेछ । लन्डनमा रहेकी उनकी छोरी भोलि नेपाल पुगेपछि अन्त्येष्टि गरिने जनाइएको छ ।
भोजपुर, छिनामखुमा २००४ सालमा जन्मेका रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए । उनी रत्न रेकर्डिङदेखि राष्ट्रिय नाचघरसम्मको महाप्रबन्धक भएका थिए ।
उनका ‘ओ याङ्जी नाना,’ ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘रातो भाले क्वाँया क्वाँया’ हरू कालजयी गीत हुन् ।
‘क्षितिजलाई छुन खोज्दा (कथासंग्रह), ‘रसिकका गीतहरू’ (गीतसंग्रह), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास), ‘दशगजामा उभिएर’, ‘जब सिस्नुहरू टेक्दै हिँडे’, पाँच पुस्तकको ‘पेरुङ्गो’ (संस्मरण) लगायत रसिकका प्रकाशित किताब हुन् ।