लन्डन । हिमशक्ति फाउन्डेसन नेपालले कर्णालीका महिलाहरूको सहयोगका लागि बेलायतमा च्यारिटी डिनर आयोजना गरेको छ । यही १८ मे २०२५ का दिन अल्डरसटस्थित एम्पायर हलमा फन्डरेजिङ च्यारिटी गरेको हो ।
सीमा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा मुख्य प्रायोजक अनुग्रह ज्वेलर्स रहेको थियो । कार्यक्रममा हाम्रो रन क्लबले ४ सय ४५ पाउन्ड सहयोग गरेको थियो । यस्तै सूर्य गुरुङ नेतृत्वको पीपल मोर्गेज, पानस, कालिका रिक्र्युटमेन्ट, मगर संघ यूके यूएचएसबी शाखाको आमा र बाबा टोली, धन रोका, एबीसी, विपना थापाकी आमा, व्यवसायी दिलरास गुरुङलगायतले सहयोग गरेको आयोजकले जनाएको छ ।
यस्तै राफल ड्रका लागि सुम्निमा ज्वेलरी, मन ट्राभल्स, लामा ज्वेलरी रहेका थिए । एम्पायर हल पनि स्पोन्सर गरिएको हो । टिकेटको स्पोन्सर बीर बलाल मगरले गरेका थिए । च्यारिटीमा कति रकम संकलन भए भन्नेबारे हिसाबकिताब भइरहेको खेलाडी ठकुरीले जनाइन् ।
कार्यक्रममा सलिना श्रेष्ठ, कृष माबो, बिभिका बलाल, जेनिफा रोका, मेरिन पाइजा, विपना थापा, गननायक गुरुङ र निकिता गुरुङले स्वयंसेवीको भूमिका खेलेका थिए । मिडियातर्फ गोर्खा मिडियाले साथ दिएको थियो ।
कार्यक्रममा रस्मूर मेयर मारा मकुनुरा, काउन्सिलर एलेक्स क्रफोर्ड, अल्डरसट टाउन एफसी अध्यक्ष साहिद अजिमसहित नेपाल र बेलायतका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको सहभागिता थियो । कार्यक्रममा नेपालबाट आएकी गायका देवी आलेमगरलगायतले सांगीतिक प्रस्तुति समेत दिएका थिए ।

ठाकुरीले कर्णाली प्रदेशका महिलाहरूको सशक्तीकरणमा काम गर्ने उद्देश्यसहित हिमशक्ति फाउन्डेसन स्थापना गरेकी हुन् । प्रदेशभरका महिलाहरूलाई फुटबल, शिक्षा र स्वास्थ्यको क्षेत्रबाट अघि बढ्न प्रेरित गर्ने आफ्नो लक्ष्य रहेको उनले बताइन् । ठकुरीका अनुसार कर्णालीका ग्रामीण भेगका महिलाहरू अहिले पनि घरायसी कामको जिम्मेवारीमै सीमित छन् । मेलापात, पाटीपौवा, पँधेरा र बालबालिकाको भरण पोषणसमेत गर्ने उनीहरू घरेलु हिंसाको चपेटामा पनि पर्दै आएका छन् । बिहान उठ्ने बित्तिकै स्याउला, सोतर, खेतीपाती, गोडमेल, घरधन्दामै उनीहरूको दैनिकी बित्ने गरेको छ ।

