लन्डन । मर्दिखोला समाज यूकेको वार्षिक भेटघाट धुमधामका साथ सम्पन्न भएको छ । अल्डरसटको एम्पायर हलमा शनिबार १० मे २०२५ मा आयोजित समारोहमा पुराना र नयाँ कार्यसमितिको जिम्मेवारी हस्तान्तरण, सांस्कृतिक प्रस्तुति तथा राफल ड्रसहित समाजको भेटघाटकार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि तमुधीं युकेका अध्यक्ष जुमकाजी गुरुङ,मर्दिखोला समाज यूकेका अध्यक्ष चन्द्रसिंह गुरुङ र आमा समूह अध्यक्ष पवित्रा गुरुङले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा गत वर्षहरु दिवंगत भएका समाजका सदस्यहरुको नाममा एक मिनेट मौन धारणा गरिएको थियो भने नेपाल बेलायतको राष्ट्रिय गान बजाइएको थियो ।
नवनिर्वाचित अध्यक्ष भगवान् गुरुङले सञ्चालन गरेको कार्यक्रमको प्रारम्भिक चरणमा उपाध्यक्ष सुन्दर गुरुङले समाजको उद्देश्य, गतिविधि र भावी लक्ष्यबारेमा छोटो जानकारीसहित स्वागत मन्तव्य राखेका थिए ।
समाजको पुरानो कार्यसमितिका अध्यक्ष चन्द्रसिंह गुरुङ र नयाँ कार्यसमितिका अध्यक्ष भगवान गुरुङबीच जिम्मेवारी हस्तान्तरण गरिएको थियो । कार्यक्रममा तमुधीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या डेमबहादुर योज तमु,तमु समाज युकेकी अध्यक्ष विन्दु घले गुरुङ, क्वोंने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेका अध्यक्ष कुमार गुरुङ, चेलीबेटी प्रमुख लीना गुरुङलाई फेटा, खादा र पछ्यौरी ओढाएर बधाई तथा कार्यकाल सफलताको शुभकामनासहित सम्मान गरिएको थियो ।

कार्यक्रममा गोर्खा ट्राभल्सका प्रबन्ध निर्देशक दिलरास गुरुङ दम्पतीसहित प्रायोजन गर्नेहरु र नयाँ सन्तान प्राप्ति गर्ने संस्थाका सदस्यहरुलाई पनि बधाई तथा सम्मान गरिएको थियो ।
यस्तै कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि जुमकाजी गुरुङले तमुधीं यूके र मर्दिखोला समाज यूकेबीच जुन खालको निटकता, आपसी समझदारी छ, भविष्यमा पनि अझ प्रगाढ र मैत्रीपूर्ण होस् भन्ने विश्वास व्यक्त गरे । उनले आफ्नो कार्यकालमा मर्दिखोला समाजबाट सदा माया,ममताको सदा अपेक्षा राखेको बताए । बेलायतवासी नेपालीको साझा र गौरवपूर्ण कार्यक्रमहरु नेपाली मेला, गोर्खा कपलगायतमा मर्दिखोला समाज यूकेबाट सहभागिता झनै बढ्ने अपेक्षा पनि उनको छ । उनले तमुधीं यूके र आफ्नो तर्फबाट मर्दिखोला समाज यूकेलाई सधैं साथ र सहयोग रहने प्रतिबद्धता जनाउँदै उत्तरोत्तर प्रगतिको शुभकामना दिए ।

निवर्तमान अध्यक्ष चन्द्रसिंह गुरुङले आफ्नो प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिए । साथै नयाँ कार्यसमितिलाई पनि आफ्नो पालामा जस्तै सहयोग गर्न आग्रह गरे ।
अध्यक्ष भगवान पुरुङले पनि कार्यक्रममा अन्त्यमा कार्यक्रम सफल भएको भन्दै सबैजनालाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा नेपालबाट आएका कलकारहरु विमल परियार, आरसी पौडेल र पवित्रा गुरुङले जोडदार प्रस्तुति राखेका थिए । सहभागी अधिकांशले नाचेर, गाएर कलाकारसँगै रमाएका थिए । कार्यक्रमको आकर्षणको रुपमा रहेको राफल ड्र पनि राम्रो तरिकाले सञ्चालन गरिएको थियो ।
कार्यक्रममा विशेष अतिथिका रुपमा तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या डेमबहादुर योज तमु, तमु समाज युकेकी अध्यक्ष विन्दु घले गुरुङ, पूर्वमेयर निना गुरुङ, एनआरएन आईसीसी सल्लाहकार तथा व्यवसायी सूर्य गुरुङ, एनआरएनए आईसीसी सदस्य तथा गोर्खा ट्राभल्सका प्रबन्ध निर्देशक दिलरास गुरुङ, क्वोंने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेका अध्यक्ष कुमार गुरुङ, चेलीबेटी प्रमुख लीना गुरुङ, तमुधीं युकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, बीसीसी यूकेका निवर्तमान अध्यक्ष हर्कबहादुर गुरुङ, आमा अध्यक्ष जगना गुरुङ, सहारा यूकेका पूर्वअध्यक्ष मिनबहादुर गुरुङ, समाजका पूर्वअध्यक्षहरु हिरामान गुरुङ, धनराज गुरुङ, मर्दिखोला समाज यूकेका आमाको संस्थापक अध्यक्ष माया गुरुङलगायत सल्लाहकार, पूर्व तथा वर्तमान पदाधिकारी र सदस्यहरुको बाक्लो उपस्थिति थियो ।



