पोखरा । सिल्दो न्हाल्दो धुवारकोट तमु समाजले  काठमाडौंबाट पोखरा आएका अतिथिहरुसँग भेटघाट, स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । 
शनिबार वैशाख १७ गते सिल्दो न्हाल्दो धु्रवारकोट तमु समाजको भवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष रेशम  गुरुङ, विशेष अतिथिहरु  तमु ह्युल छोंज धींका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरुङ, डक्टर गणेश गुरुङ, मेजर जर्नल राम गुरुङ र नेपाल आदिवासी जनजाती महासंघका पूर्व अध्यक्ष जगत बराम लगायतका समूहलाई स्वागत, सम्मान गरिएको हो । उनीहरुलाई सिल्दो न्हाल्दो धुवारकोट तमु समाजका अध्यक्ष शेरबहादुर गुरुङ, संरक्षक तेजबहादुर गुरुङ, WO2 बाबुकाजी गुरुङ, सुबेदार शेरबहादुर गुरुङ, वरिष्ठ लोकगीत गायक पूर्व ई. क्षेत्रबहादुर गुरुङ, अर्जुन गुरुङ,  समाजका सदस्यहरु र आमा समूहले फूलमाला लगाई  स्वागत सम्मान गरे ।
कार्यक्रममा पूर्व  ई. क्षेत्रबहादुर गुरुङले अतिथिहरुलाई मौलिक गुरुङ पहिचान झल्किने सिल्दो न्हाल्दो मन्दिर, धुवारकोट तमु समाज, गुरुङ संग्रहालय  तथा बहुउद्देश्यीय भवनको बारेमा जानकारी गराई मन्दिर, संग्रहालय तथा बहुउद्देश्यीय भवनको जग्गा अवलोकन गराएका थिए ।
प्रमुख अतिथि प्रतिष्ठानका उपाध्यक्ष रेशम  गुरुङले मौलिक गुरुङ पहिचान झल्किने सिल्दो न्हाल्दो मन्दिर, संग्रहालय तथा बहुउद्देश्यीय भवन निर्माणका लागि प्रतिष्ठानको तर्फबाट सक्दो सहयोग गर्ने वचन दिए ।
सिल्दो न्हाल्दो मन्दिर, संग्रहालय तथा बहुउद्देश्यीय भवनको जग्गा अवलोकन साथै निर्माणकार्य गर्न आर्थिक सहयोग गर्ने बचन दिएकामा उपाध्यक्ष गुरुङ र अतिथिहरुलाई समाजका अध्यक्षले  धन्यवाद  दिएका थिए | 
अन्तमा  खाजा र  चियापान पछिकार्याक्रम समापन भएको थियो । उक्त कार्यक्रमको संचालन समाजका सचिव जमुना गुरुङ र सहसचिव वीरबहादुर(राजकुमार) गुरुङले गरेका थिए ।
