लन्डन । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको अध्यक्षमा कुमार गुरुङ नियुक्त भएका छन् ।
आइतबार २० अप्रिल २०२५ मा अल्डरसटस्थित सुसी मोटो रेष्टुरेन्टमा सम्पन्न संस्थाको नवौं वार्षिक साधरणसभाले समाजको रिक्त अध्यक्ष पदमा उपाध्यक्ष गुरुङलाई जिम्मेवारी सुम्पेको हो । अध्यक्ष क्याप्टेन पिताम्बर गुरुङले राजीनामा दिएपछि पद रिक्त थियो । सभाले वर्तमान कार्यसमितिको कार्यकाल एक वर्षको लागि थप गरिएको पनि समाजका महासचिव इन्द्र घोथानेले जानकारी दिए ।
नवनियुक्त अध्यक्ष कुमारले यसअघि सहारा यूके, धम्पुस समाज यूकेको सफलतापूर्वक नेतृत्व गरिसकेका छन् । साथै उनी तमुधीं यूकेलगायत अन्य थुप्रै सामाजिक संस्थाहरुमा सम्बद्ध हुनुहुन्छ । कुमार गुरुङ साथीभाइहरुबीच मिलनसार व्यक्तित्व र कुशल इभेन्ट कोअर्डिनेटरको रुपमा परिचित छन् ।

अध्यक्ष क्याप्टेन पिताम्बर गुरुङ, चेलीबेटी प्रमुख लिना गुरुङ र संस्थापक अध्यक्ष नरजङ गुरुङले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी वार्षिक साधारणसभा समुद्घाटन गरेका थिए । त्यसपछि उपाध्यक्ष राम गुरुङले उपस्थित सबैजनालाई समाजको तर्फबाट औपचारिक स्वागत गरेका थिए । साधारणसभामा महासचिव घोथानेले स्वास्थ्य तथा सुरक्षासम्बन्धी जानकारी गराएका थिए ।
सभाको आरम्भमा यस आर्थिक वर्ष अर्थात् २०२४–२५मा स्वर्गारोहण भएका कुलपितृहरुको सम्झना गर्दै (प्रार्थना गर्दै) श्रद्धाञ्जली स्वरुप १ मिनेट मौनधारण गरिएको थियो । सभामा क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका कोषाध्यक्ष देब गुरुङले समाजको वार्षिक आर्थिक प्रतिवेदन पेस गर्दै समाजको आर्थिक अवस्था बलियो र वृद्धिका लागि केही रणनीतिक बुँदाहरु प्रस्तुत गरेका थिए ।
त्यस्तै महासचिवले वार्षिक बैठकहरुको प्रतिवेदन (बैठकहरु र उक्त बैठकहरुको निर्णयहरु) र कार्यवाहक अध्यक्ष राम गुरुङले समाजले सम्पन्न गरेका प्रमुख कार्यर कार्यक्रमको स्मरण गराउँदै समग्र समाजको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

सभाले क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको २०२५ को वार्षिक भेटघाट तथा चेलीबेटी भोज कार्यक्रम आगामी वर्ष जनवरी १७ तारिख २०२६ साल र चेलीबेटीहरुको देउसीभैलो तथा भाइटीका (तिहार) कार्यक्रम २०२५ अक्टोबर ११ वा १७ मा तारिख गर्ने निर्णय गरेको छ । साथसाथै, संस्थाहरुको नियमित वार्षिक साधरणसभामा झैँ क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेले पनि समाजको हित र बिकासको लागि अन्य थुप्रै आवश्यक निर्णयहरु गरेका छन् ।
सभामा संस्थापक अध्यक्ष नरजङ गुरुङ, प्रमुख संरक्षक क्याप्टेन जीवनकुमार गुरुङ, प्रमुख सल्लाहकार हरि गोबिन्द गुरुङ, संस्थापक सल्लाहकार तथा तमु समाज यूकेको संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, संस्थापक सल्लाहकार तथा तमुधीं यूकेको संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, संस्थापक सल्लाहकार नारदमनी गुरुङ र भूपू अध्यक्ष तथा संरक्षक अनेरी लेप्टेन चन्द्र गुरुङले शुभकामना मन्तव्य दिएका थिए ।
सभामा समाजका पदाधिकारीहरु र प्रमुख सदस्यहरु उपस्थित थिए । वार्षिक साधारणसभा महासचिव इन्द्र घोथानेले संचालन गरेका थिए ।


