इसेक्स क्याम्ब्रिज । ताङतिङ मितेरी संघ यूकेले क्याम्ब्रिज इसेक्सस्थित कारभर ब्यारेकको अफिसर मेसमा परोपकारी रात्रिभोज-२०२५ सम्पन्न गरेको छ ।
बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्यमा १२ अप्रिलका दिन कार्यक्रम भएको हो । कास्कीको मादी गाउँपालिका-२ ताङतिङ तथा त्यस वरपरका गाउँहरूको सहयोगार्थ सम्पन्न उक्त च्यारिटी डिनर नाइटको प्रबन्ध ताङतिङ मितेरी संघ यूकेका अध्यक्ष पूर्वडिस्ट्रिक्ट काउन्सिलर टिना नाइट तथा ताङतिङ समाज यूकेका निवर्तमान अध्यक्ष भुपु उपमेयर काउन्सिलर लक्ष्य गुरुङले संयोजन गरेका थिए ।
प्रमुख अतिथि घिमिरेले रोपकारी रात्रिभोजमा उपस्थित हुन पाउँदा खुशी लागेको बताए । नेपालको पहाडी गाउँहरूमा बसोबास गर्ने गरिब दुखीहरूको सहयोगका लागि संघले गरेको परोपकारी कार्य प्रशंसनीय रहेको उनको भनाइ थियो । राजदूत घिमिरेले नयाँ पुस्ताहरूलाई पनि यस्ता परोपकारी कार्यमा प्रेरित गर्नुपर्ने बताए ।
कार्यक्रममा कार्भर ब्यारेक रोयल इन्जिनियर्सका मेजर स्टिभ मार्स, लेप्टिनेन्ट कर्णेल रिटायर्ड माइकल गारसिया, एमबीई, मोटिभेसनल स्पिकर बिली डिक्सन र कर्णेल रिटायर्ड केलम स्कट आदिले ताङतिङ मितेरी संघको परोपकारी रात्रीभोज कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे । उनीहरूले पनि संघको पुन्य तथा परोपकारी कार्यहरूको प्रशंसा गरेका थिए ।

अन्त्यमा संघका अध्यक्ष टिना नाइटले कार्यक्रम सफल बनाउन उपस्थित हुने सबैलाई धन्यवाद दिए । ताङतिङ समाज यूकेका अध्यक्ष तर्कजङ गुरुङले पनि उपस्थित सबैलाई धन्यवाद दिँदै ताङतिङ मितेरी संघ यूकेले ताङतिङको शिक्षा, स्वास्थ्य र समग्र विकासमा पुर्याएको योगदानप्रति आभार प्रकट गरे ।
अध्यक्ष गुरुङले ताङतिङको विकासमा विशेष सहयोग गरेकामा ताङतिङ मितेरी संघ युकेका अध्यक्ष टिना नाइट र उनको स्वकिय साहयक निकी केलीलाई पुष्पगुच्छ प्रदान गर्दै कृतज्ञता प्रकट गरेका थिए ।
ताङतिङ मितेरी संघ यूके बेलायत र नेपालका गाउँहरूबीच मित लगाउने (भगिनी सम्बन्ध गाँस्ने) पहिलो संस्था हो । यसैको सिको गरेर पछिल्लो समय बेलायत र नेपालको विभिन्न गाउँ तथा शहरबीच मित लगाउने प्रचलन बढेको छ ।
कार्यक्रममा राफल ड्र र अक्सन पनि गरिएको थियो । क्याम्ब्रिज वरपरको थुप्रै मितेरी मित्र र अन्य नेपालीसमेत उपस्थित थिए ।

२००७ सालमा स्थापना भएको ताङतिङ मितेरी संघ यूकेले ताङतिङ र त्यस वरपरका क्षेत्रहरूमा गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति, ताङतिङको स्कुलमा ई लाइब्रेरी, दीर्घ रोगीहरुलाई निःशुल्क औषधि, निःशुल्क स्वास्थ्य शिविर, प्राकृतिक प्रकोपको बेला सहयोग लगायत समग्र ताङतिङको विकासमा आवश्यक सहयोग गर्दै आइरहेको छ ।