अल्डरसट । ग्रेटर रश्मुर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले भव्य रूपमा नेपाली नयाँ वर्ष २०८२ कार्यक्रम सम्पन्न गरेको छ । अल्डरसटस्थित एम्पायर हलमा शनिबार विविध सांस्कृतिक तथा सांगीतिक कार्यक्रम, शुभकामना आदानप्रदानसहित नयाँ वर्ष मनाइएको हो ।
अध्यक्ष मान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव सुनिल रानाले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराएका थिए । रानाले नै कार्यक्रम सञ्चालन गरेका थिए । नेपाली राष्ट्रिय गान र त्यसपछि बेलायतको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक डा. विशाल गुरुङले स्वागत मन्तव्य तथा सयपत्री सांस्कृतिक समूह यूकेका कलाकारले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष मान गुरुङ, प्रमुख अतिथि रश्मुर बरो काउन्सिलका मेयर काउन्सिलर मारा मकुनारा, लामा गुरुहरू तथा पण्डितले दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।
संस्थाका गतिविधिबारे पावर प्वाइन्ट प्रेजेन्टेसनमार्फत जानकारी गराइएको थियो । नानीबाबुहरुलाई शिक्षक गोमा रानाबाट नेपाली भाषामा संवाद गराइएको थियो । नेपाली भाषा शिक्षणका बालबालिका, नृत्य प्रशिक्षण लिएका बालबालिका, स्थानीय कलाकार, संस्थाका स्वयंसेवकलाई प्रमुख अतिथि, सांसद अलेक्स बेकर र संस्थाका अध्यक्ष मान गुरुङले प्रमाणपत्र प्रदान गरेका थिए ।

यस्तै, नेपालबाट आएका कलाकारहरू पवित्र गुरुङ, अनुपा मगर, शर्मिला बिसी, आरसी पौडेल, पत्रकार आश गुरुङलाई कदरपत्र प्रदान गरिएको थियो । मेयर काउन्सिलर मारा मकुनारा, सांसद तथा संस्थालाई विशेष सहयोग गर्नेहरूलाई अध्यक्ष र उनकी धर्मपत्नी तारादेवी गुरुङले व्यक्तिगत तर्फबाट ढाकाटोपी तथा सल ओढाएर सम्मान गरेका थिए ।
प्रमुख अतिथि, सांसद र संस्थापक कार्यवाहक अध्यक्ष रामचन्द्र गुरुङले शुभकामना मन्तव्य राखेका थिए । सांगीतिक तथा सांस्कृतिक कार्यक्रम पूर्वअध्यक्ष एवं संरक्षक रोहित गुरुङको संयोजकत्वमा भएको थियो । सो अवसरमा नेपालबाट आएका कलाकारहरू पवित्र गुरुङ शर्मिला बिसी र अनुपा मगर र आरसी पौडेलले भव्य प्रस्तुति दिएका थिए । उनीहरूको प्रस्तुतिमा सबै झुमेका थिए ।

कलाकार टंक शेरचनले नेपाली र अंग्रेजी गीतमा बाँसुरीको धुन बजाएर मनोरञ्जन दिलाए । पृष्टिना गुरुङले अंग्रेजी गीत गाएकी थिइन् । जीआरएनसीका सल्लाहकार छविमाया पुनको संयोजकत्वमा कलाकार मेरिना पाइजा र विपिना थापाले लोपोन्मुख घाँटु नृत्य प्रस्तुत गरेका थिए । कलाकार रोहित गुरुङले अंग्रेजी गीत प्रस्तुत गरेका थिए । सयपत्री सांस्कृतिक समूह यूकेका कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।
सांगीतिक कार्यक्रम सञ्चालन आजीवन सदस्य कल्पना गुरुङ र पूर्वउपाध्यक्ष सुष्मा गुरुङले गरेका थिए । अतिथि कलाकारहरूलाई सम्मानसहित मायाको चिनोसमेत प्रदान गरिएको थियो । कार्यक्रममा बेलायतस्थित नेपाली संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिसहित विभिन्न व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । अन्त्यमा अध्यक्षले कार्यक्रममा उपस्थित हुने र सफल हुने सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै समापन गरेका थिए ।

