लन्डन । ग्रेटर सश्मुर नेप्लिज कम्युनिटी (जीआरएनसी) नेपाली नयाँ वर्ष २०८२ भव्य रूपमा मनाउने तयारी गरिरहेको छ ।
अल्डरसटस्थित एम्पायर हलमा आगामी शनिबार, १२ अप्रिलमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । कार्यक्रममा सबै अतिथिहरूलाई निमन्त्रणा गरिसकिएको छ । कार्य विभाजन पनि भइसकेको छ ।
कार्यक्रमको तयारीबारे जीआरएनसीले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको थियो । थकाली किचनमा भएको पत्रकार सम्मेलन उपाध्यक्ष एवं कार्यक्रम कोअर्डिनेटर डा. विशाल गुरुङले सञ्चालन गरेका थिए । अध्यक्ष मान गुरुङले कार्यक्रमको तयारीका बारेमा जानकारी गराएका थिए ।

सांगीतिक मनोरञ्जनसँगै कार्यक्रममार्फत नेपाली कला र संस्कृतिको प्रवर्द्धनसमेत गर्ने लक्ष्य रहेको छ । कार्यक्रमका लागि नेपालबाट गायिकाहरू अनुपा मगर, शर्मिला बिसी र पवित्र गुरुङ आउने निश्चित भएको छ । उनीहरूसहित यूकेका स्थानीय र बालकलाकारको प्रस्तुतिसमेत रहनेछ । सो अवसरमा राफल ड्र पनि हुनेछ ।
कार्यक्रमका लागि विभिन्न व्यक्तित्वहरूले प्रायोजन पनि गरिरहेका छन् । प्रायोजकलाई १ टिकटबापत ५० पाउन्ड, दुई टिकटबापत १०० पाउन्ड लिने तय भएको छ । प्रदेश शुल्क ३० पाउन्ड तोकिएको छ । ज्येष्ठ नागरिकलाई २० र १२ वर्ष मुनिका बालबालिकालाई निःशुल्क गरिनेछ ।
संस्थाको आजीवन सदस्य बन्न दम्पतीलाई २५ पाउन्ड र सिंगललाई १५ पाउन्ड तोकिएको छ । उपाध्यक्ष डा. गुरुङले कार्यक्रममा उपस्थित हुन यूकेवासी नेपाली समुदायलाई र आफ्ना साथी स्थानीय ब्रिटिसहरू भए उनीहरूलाई पनि लिएर आउन अनुरोध गरेका छन् ।
जीआरएनसीले बालबालिकाहरूलाई ६/७ महिनादेखि नाच र नेपाली भाषा पनि सिकाइरहेको छ । पत्रकार सम्मेलनमा यूकेमा सञ्चालित विभिन्न मिडियाका प्रतिनितिको उपस्थिति रहेको थियो ।