लन्डन । गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ बेलायतका विभिन्न स्थानको भ्रमण तथा नेपालीहरूसँग भेटघाटमा व्यस्त रहेकी छन् ।
यस क्रमममा उनले मंगलबार क्याम्बर्ली, फार्नबोरो र अल्डरसटको भ्रमण गरिन् । सुरुमा गोर्खा प्यालेसमा लन्च खाएपछि फार्नबोरोको एभरेस्ट होलसेलको भ्रमण गरेकी थिइन् । यो बेलायतमा नेपालीहरूले सञ्चालन गरेको सबैभन्दा ठूलो होलसेल पसल हो । होलसेलमा नेपालबाट ल्याउने सामग्रीलगायत बारे सञ्चालन एबी आशबहादुर गुरुङले जानकारी गराएका थिए ।
त्यसपछि क्याम्बर्लीको एभरेस्ट वर्ल्ड फुडको भ्रमण गरेकी थिइन् । सांसद गुरुङको टोली यहाँबाट अल्डरसट पुगेको थियो । एम्पायरमा गोर्खा आमा समूहसँग उनले छलफल गरेकी थिइन् । डि लन्जमा उनलाई स्वागत तथा सम्मान गरिएको थियो । त्यहाँ आमाहरूको प्रश्न तथा जिज्ञासाहरू ध्यानपूर्वक सुनेर सांसद आफ्नो मन्तव्यसमेत राखेकी थिइन् । सो अवसरमा नाचगानसहित सबैले रमाइलो गरेका थिए ।
पूर्वगोर्खा दम्पती शान्त गुरुङ र रूपमाया गुरुङले सञ्चालन गरेको ‘उम्रो क्लोथिङ’ फेन्सी स्टोर्सको भ्रमण गरिन् । बेलायतमा अनलाइन तथा डिजिटल व्यापार फस्टाइरहेको अवस्थामा पनि गुरुङ दम्पतीले सफलतापूर्वक पसल सञ्चालन गर्दै आएका छन् ।
त्यसपछि नेपालीहरूले चलाएको ठूलो सुपरमार्केट चाइना ओरेन्टियलको अवलोकन गरिन् । अल्डरसटमा रहेको यस सुपरमार्केटमा प्रबन्ध निर्देश कमल गुरुङ रहेका छन् ।
यसलगत्तै पहिलो भीसी कुलवीर थापाको मूर्ति भ्रमण तथा हिन्दू शिव कल्चर मन्दिर अल्डरसटको दर्शन गरेकी थिइन् । मन्दिरका अध्यक्ष विक्रम भट्टराईले स्वागत गरेका थिए । सो क्रममा भर्खरै मात्र बगर भाइ खलक यूकेका अध्यक्षमा निर्वाचित ओमप्रकाश गुरुङसँग भेटघाट गरिन् । गुरुङलाई सांसद गुरुङले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामनासमेत दिइन् ।
क्वोने (घोताने/घोन्डे) गुरुङ समाजका चेलीबेटी प्रमुख लिना गुरुङको अगुवाइमा आमा समूहले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भएकी थिइन् । भ्रमणका क्रममा उनले यहाँका नेपाली व्यवसायी, आमा समूह, चेलीबेटीलगायतको चासो तथा जिज्ञासाहरूलाई सुनेर धन्यवादसहित शुभकामना दिएकी थिइन् ।