लन्डन । गोसाईंकुण्ड तीर्थयात्रामा जाने क्रममा भदौ १० गतेदेखि सम्पर्कविहीन बिनु गुरुङ र देवी गुरुङको अवस्था अज्ञात छ ।
भोटेकोसी नदीमा आएको बाढीका कारण उनीहरू बेपत्ता भएका थिए । बहिनीहरू बेपत्ता भएपछि खोजीका लागि बिनुका दाजु लेख गुरुङ यूकेबाट नेपाल गएका छन् । उनी बाढी प्रभावितस्थल बेत्रावती पुगेर खोजीमा जुटेका छन् ।
नेपाल पुगेर सम्बन्धित निकायमा नाम तथा विवरण दर्ता गराउनुका साथै तस्बिर र आवश्यक जानकारी विभिन्न स्थानमा पुर्याउँदै सम्भावित यात्रा मार्ग तथा बाढी प्रभावित क्षेत्रमा उनी निरन्तर खोजतलास गरिरहेका छन् ।
तमु समाज यूकेका सल्लाहकार तथा तनहुँ समाज यूकेका संस्थापक अध्यक्ष एवं संरक्षकसमेत रहेका लेखलाई खोजी अभियानमा पत्रकार डण्ड गुरुङले सहयोग र समन्वय गरिरहेका छन् । स्थलगत अवस्था बुझ्दै खोजी गर्ने क्रममा उनीहरू उत्तरगया गाउँपालिकाअन्तर्गत पर्ने बेत्रावती बजार तथा आसपासका बाढी प्रभावित क्षेत्रमा पुगेको तमु समाज यूकेले जनाएको छ ।
‘उक्त क्षेत्रको अवस्था अत्यन्त हृदयविदारक र कल्पनाभन्दा बाहिरको रहेको उहाँहरूले भिडियो सन्देशमार्फत बताउनुभएको छ। विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै धेरै परिवारले आफ्ना प्रियजन गुमाएका छन्। बेपत्ता आफन्तहरूको खोजीमा थुप्रै परिवार पीडा र आशा बोकेर सम्भावित स्थानहरूमा पुगिरहेका कारुणिक दृश्यहरू देखिएका छन्,’ तमु समाज यूकेले जनाएको छ ।
भदौ ११ गते बिनु वा देवीमध्ये एक जनाको मोबाइल बेत्रावती आसपासको क्षेत्रमा केही समय सक्रिय भएको सङ्केत प्राप्त भएको जानकारीका आधारमा उनीहरूको खोजी भइरहेको हो । बाढीले गाडी बगाउने क्रममा उहाँहरू गाडीबाट बाहिर निस्कन वा हामफाल्न सफल हुनुभएको हुन सक्छ भन्ने आशासहित सम्भावित स्थानहरूमा खोजतलास गरिएको थियो । तर स्थलगत रूपमा त्यहाँ पुगेपछि देखिएको विकराल र जटिल अवस्थाले खोजी कार्यलाई झन् कठिन बनाएको लेखले बताएका छन् ।
तमु समाज यूकेले भनेको छ, ‘आफ्नी प्यारी बहिनी र उहाँसँगै यात्रामा रहनुभएकी देवी गुरुङको खोजीमा बेलायतबाट नेपाल पुगेर ठाउँ–ठाउँमा भौँतारिइरहनुभएका श्री लेख गुरुङज्यूको पीडा र कारुणिक अपिलले हामी सबैलाई भावविह्वल बनाएको छ। यस्तो असह्य अवस्थामा पनि उहाँले धैर्य र साहसका साथ खोजी कार्य जारी राख्नुभएको छ।’
तमु समाज यूकेले नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, उद्धारकर्मी तथा सम्बन्धित सबै पक्षलाई बेपत्ता बिनु गुरुङ र देवी गुरुङको खोजी कार्यलाई अझ प्रभावकारी र तीव्र बनाउन हार्दिक अनुरोध गरेको छ । यस्ता प्राकृतिक विपत्तिमा खोज तथा उद्धार गर्न आवश्यक प्रविधि, साधन र दक्ष जनशक्तिसहितको विशेष टोली परिचालन गर्नसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
बिनु गुरुङ र देवी गुरुङका सम्बन्धमा कुनै जानकारी, तस्बिर, भिडियो, व्यक्तिगत सामान वा यात्रासँग सम्बन्धित कुनै सङ्केत प्राप्त भएमा परिवार, नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायलाई खबर गर्न पनि अपिल गरेको छ ।
‘यस कठिन घडीमा आदरणीय श्री लेख गुरुङज्यू, दुवै परिवारजन तथा यस विपत्तिमा आफ्ना प्रियजन बेपत्ता भएका सम्पूर्ण परिवारप्रति तमु समाज यूके परिवार हार्दिक सहानुभूति व्यक्त गर्दछ । खोजी कार्यमा निरन्तर साथ र सहयोग प्रदान गरिरहनुभएका पत्रकार श्री डण्ड गुरुङज्यूप्रति पनि हामी हार्दिक आभार व्यक्त गर्दछौँ,’ तमु समाज यूकेले भनेको छ ।
सबैको प्रार्थना, सद्भाव र साथ दुवै परिवार तथा आफ्ना प्रियजनको खोजीमा रहनुभएका सम्पूर्ण पीडित परिवारसँग रहेको संस्थाले जनाएको छ । भनेको छ, ‘बिनु गुरुङ र देवी गुरुङ सकुशल भेटिनुहुनेछ भन्ने आशा र विश्वास कायम राख्दै उहाँहरूको शीघ्र खोजी तथा उद्धारका लागि सबैसँग सहयोगको विनम्र अनुरोध गर्दछौँ ।’