लन्डन। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले सन् १९२३ मा नेपाल र बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धिले नेपाललाई एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा विश्वसामु चिनाएको बताएका छन् ।
बेलायतको संसद् भवन (वेस्ट मिन्स्टर) मा आयोजित ‘नेपाल–बेलायत सम्बन्ध’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाललाई विश्वसामु स्वतन्त्र र सार्वभौम राष्ट्र मान्ने बेलायतको उक्त कदमप्रति आभार प्रकट गरेका हुन् ।
दुवै विश्वयुद्धमा दुई लाखभन्दा बढी गोर्खा सैनिकले बेलायतका तर्फबाट लडेर अमूल्य जीवन गुमाएको स्मरण गर्दै उनले बेलायती सरकारले उनीहरूको समर्पण र बलिदानको कदर गरी सम्मान गरेकोमा खुसी व्यक्त गरे ।
‘नेपालीहरूले गोर्खाको नाममा बेलायती सेनामा गरेको लामो र अति विशिष्टीकृत सेवा नै दुई देशबीचको दुई शताब्दी लामो मित्रताको आधार हो । दुवै देशमा जेजस्ता परिवर्तन भए पनि हाम्रो सम्बन्धमा त्यसले कहिल्यै कुनै असर गरेन, बरु अझ प्रगाढ बन्दै गयो,’ उनले भने, ‘दुई लाखभन्दा बढी गोर्खा सैनिकले दुवै विश्वयुद्धमा बेलायतको तर्फबाट युद्ध लडे । बेलायत सरकारले उनीहरूको समर्पण र बलिदानको कदर गरी सम्मान गरेकोमा म खुसी छु ।’
नेपालमा संकट परेको बेलामा बेलायतले गरेका निरन्तर सहयोगले दुई देशको सम्बन्धलाई असल मित्रका रूपमा अझ प्रगाढ बनाएको उनको भनाइ छ ।
‘बेलायत सरकारले सन् २०१५ को विनाशकारी भूकम्प र कोभिडको बेलामा गरेका सहयोग देखेको छु । त्यो बेलामा बेलायती विशेषज्ञले गरेको सेवा र प्रदान गरेका उपकरण हाम्रा लागि अत्यन्त उपयोगी रहे । यसले बेलायतीप्रति हाम्रो श्रद्धा अझ बढेको छ,’ उनले भने ।
स्वच्छ ऊर्जा, पर्यटन, जलविद्युत्, कृषि र प्रविधिलगायत अन्य क्षेत्रमा नेपालमा लगानी गर्न यहाँका उद्यमीमा उनले आग्रहसमेत गरे । ‘दुई देशका सांसदको भ्रमणको आदानप्रदान त हाम्रो जस्तो बहुआयामिक सम्बन्धमा अझ जरुरी रहेको छ,’ उनले भने ।