लन्डन । हेल्प नेपाल नेटवर्क यूकेले स्थापनाको २५औँ वार्षिकोत्सव मनाएको छ । आइतबार फार्नबरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा एक कार्यक्रमबीच वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले हेल्प नेपाल नेटवर्कले नेपालका लागि ठूलो योगदान गरेको बताए । हेल्प नेपालको कार्यमा दूतावासले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने पनि उनको प्रतिबद्धता थियो ।
उपाध्यक्ष प्रसिद्ध प्रधानले स्वागत मन्तव्य राख्दै परोपकारमार्फत नेपाली डायस्पोरालाई नेपालसँग जोड्ने उद्देश्यले स्थापित हेल्प नेपाल अहिले करिब एक दर्जन देशमा फैलिएको जनाए ।
अध्यक्ष सचिन श्रेष्ठले आफ्नो संस्थाले गरेका कार्यक्रमबारे जानकारी दिँदै हेल्प नेपाल नेटवर्कले विशेष गरी शिक्षा, स्वास्थ्य र प्राकृतिक विपत्तिमा सहयोग गरिरहेको बताए। उनले पावर प्वाइन्ट प्रेजेन्टेसनमार्फत कार्यक्रमको विस्तृत रूपमा जानकारी दिएका थिए ।
संस्थाले हालसम्म १७ हेल्थ क्याम्पसहित २१ स्वास्थ्यसम्बन्धी प्रोजेक्ट, ४० लाइब्रेरी र ५० बढी इ-लाइब्रेरी स्थापना, ६८ वटा स्कुल मर्मत, पुनर्स्थापनालगायत सहयोग गरेको र तीन हेल्थपोस्ट सञ्चालन गरिरहेको उनले जनाए ।
संस्थाले काभ्रेको धुलिखेलस्थित बालगृह र मुगु हेल्थपोस्ट सञ्चालन गरिरहेको र त्यसका लागि वार्षिक १ करोड रुपैयाँभन्दा बढी खर्च हुने अध्यक्ष श्रेष्ठको भनाइ थियो ।
संस्था स्थापनाको २५ वर्षमा धेरै आरोह अवरोह सामना गर्नु परे पनि सबैको सहयोगले संस्था सञ्चालन भइरहेको उनले बताए । श्रेष्ठका अनुसार, संस्थाको बैंक खातामा ७ करोड मौज्दात छ र ५० लाख वार्षिक ब्याज आउँछ जुन प्रोजेक्ट सञ्चालनमा खर्च हुने गरेको छ ।
श्रेष्ठले कम्युनिटीलाई ‘इन्सपायर’ गर्ने र समुदायमा सकारात्मक सन्देश फैलाउने संस्थाको उद्देश्य रहेको जनाउँदै आफूहरूले पुरै पैसा लगाएर प्रोजेक्ट नगरी स्थानीय मानिसलाई पनि अपनत्व होस् भनेर ४० प्रतिशत खर्च स्थानीय श्रमदान वा चन्दाबाट गर्न लगाइ प्रोजेक्टमा संलग्न गराइएको बताए ।
वरिष्ठ पत्रकार भगीरथ योगीले सञ्चालन गरेको कार्यक्रममा शिव कल्चर मन्दिर अध्यक्ष विक्रम भट्टराई, पासा पुचः गुथि यूके अध्यक्ष सुशील प्रजापति, नेपाल पत्रकार महासंघ बेलायतका निवर्तमान अध्यक्ष ध्रुवराज अर्याल, समाजसेवी शिवजी श्रेष्ठ, बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ, सहारा यूके अध्यक्ष कृष्ण गुरुङ, आरजीएनएसका महासचिव ह्यारी गुरुङ, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स अध्यक्ष डा. कपिल रिजाल, अधिवक्ता सुरेन्द्र श्रेष्ठ, समाजसेवी एकिन्द्र गुरुङ, युवा उद्यमी किशोर सापकोटा, तमु धीं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङले शुभकामना दिएका थिए ।
त्यसैगरी, एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, एनआरएनए यूके आइसीसी सदस्य दिलरास गुरुङ र ले. रि. चन्द्र गुरुङ, एनआरएनए यूके पूर्वअध्यक्ष पुनम गुरुङ, तमु धीं यूके अध्यक्ष जुमकाजी गुरुङ र हेल्प नेपाल नेटवर्क यूकेका सल्लाहकार चिरञ्जीवी ढकालले पनि शुभकामना दिँदै संस्थाको परोपकारी कार्यले अझ तीव्रता पाओस् भन्ने कामना गरेका थिए ।
मुगु हेल्थपोस्टमामा प्रोजेक्ट लाने तयारी गरेका डा. सुदर्शन गुरुङले आफ्नो प्रोजेक्टबारे जानकारी गराएका थिए । रगत विशेषज्ञसमेत रहेका ब्रिटिस आर्मीका मेजर डा. गुरुङले ‘ब्लड फर नेपाल’ प्रोजेक्ट गर्न लागेको जनाउँदै नेपालका चिकित्सकलाई तालिम दिने बताए । उनले झण्डै तीन करोड जनसंख्या रहेको नेपालमा अझै पनि दक्ष चिकित्सक अभाव रहेको बताए ।
स्वयंसेवक चन्द्र देवकोटाले हेल्प नेपालको उद्देश्यबाट प्रभावित भएर च्यारिटी कार्यक्रम गर्दै आएको जनाउँदै भविष्यमा पनि त्यस कार्यमा निरन्तर लागिरहने प्रतिबद्धता जनाए ।
हेल्प नेपाल नेटवर्क यूकेका सल्लाहकार सूर्य गुरुङले धन्यवाद मन्तव्य दिँदै संस्थाले दूरदर्शी काम गरिरहेको बताए । धेरै च्यारिटी संस्थाले प्रशासनिक खर्च कटाएर बाँकी रकम मात्र सम्बन्धित ठाउँमा पठाउने गर्ने गरे पनि हेल्प नेपालले शतप्रतिशत चन्दा दिने भएकाले सहयोग गरिदिन सबैमा अपिल गरे ।
हेल्प नेपाल नेटवर्कको २५औँ वार्षिकोत्सवको अवसरमा नेपाली साइक्लिङ क्लब यूकेले आगामी मे महिनामा पोर्चुगलदेखि स्पेनसम्मको च्यारिटी साइकल यात्रा गर्ने घोषणा गरियो । उक्त साइकल यात्राबाट संकलित कोष डा. सुदर्शन गुरुङले मुगुमा सञ्चालन गर्ने हेल्थ प्रोजेक्टमा खर्च गर्ने योजना छ ।
कार्यक्रममा संस्थाले विभिन्न कालखण्डमा आर्थिक तथा भौतिक सहयोग गर्ने सहयोगी एवं स्वयंसेवकलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । प्रमुख अतिथि कार्यवाहक राजदूत दुवाडीले प्रशंसा पत्र प्रदान गरेका थिए ।
अन्त्यमा संस्थाका अध्यक्षले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।