लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले आफ्नो कार्यालयको औपचारिक उद्घाटन गरेको छ । जातीय संस्थाका अध्यक्षहरू, केन्द्रीय कार्यसमिति र सल्लाहकारको रोहबरमा कार्यालयको उद्घाटन गरिएको हो ।
नेपालीहरूको बाक्लो बस्ती रहेको सहर अल्डरसटको मुख्य बजारमा रहेको ४३ युनियन स्ट्रिटको दोस्रो तल्लामा रहनेगरी नेफिनको नयाँ कार्यालय सञ्चालनमा ल्याइएको हो । प्रतिमहिना एक हजार पाउन्ड भाडा लाग्ने सो कार्यालय रिटायर्ड मेजर इन्द्र प्रसाद राईले नेफिन यूकेलाइ नि:शुल्क प्रदान गरेका हुन् । संस्था स्थापनाको १६ वर्षमा नेफिन यूकेले पहिलो पटक आफ्नो कार्यालय स्थापना गरेको हो । नेफिन यूकेमा हालसम्म १४ वटा जातीय संस्था आबद्ध छन् ।
संस्थाले आफ्नो पाँचौँ नियमित बैठक पनि सोही अवसरमा सम्पन्न गर्यो। बैठकमा छलफल भई निर्णय भएका एजेन्डाहरूमा सम्पूर्ण आबद्ध जातीय संस्थाहरूबाट अबको कार्यकालका लागि संघीय परिषद् सदस्यहरूको नामावली आह्वान गर्ने, बैंक खातामा समस्या भएकाले च्यारिटी संस्थाको रूपमा अथवा सीआईसीमा जाने अर्थात् नजाने बारेमा अध्यक्ष रिटायर्ड मेजर योगेश कोयी राईलाई जिम्मा दिइयो । साथै बैठकले २०२५ वर्षभरीका कार्ययोजना पनि तय गरेको थियो ।
सोही अनुसार २४ मेमा एम्पार हलमा बृहत् च्यारिटी डिनर कार्यक्रम गर्ने र त्यसको जिम्मेवारी नेफिन यूकेका सचिव रिटायर्ड मेजर इन्द्र प्रसाद राईलाई दिइएको छ । त्यसैगरि महासंघले पहिलो पटक अगस्त ९ र १०, सन् २०२५ मा आदिवासी दिवसको अवसरमा बृहत् आदिवासी मेला आयोजना गर्ने पनि निर्णय गरेका छ । आदिवासी दिवसको संयोजक उपाध्यक्ष विमला राईले गर्ने निर्णय गरिएको छ ।
आदिवासी मेला किरात हाउस गेम्बलस लेनमा हुने छ । मेलामा कार्रबूट सेल, भलिबल प्रतियोगिता, सांगीतिक मनोरञ्जन लगायतका कार्यक्रम आयोजना हुने छ । कार्यक्रममा नेपालबाट हरेक जातीय संस्थाहरूले आ–आफ्नो समुदायबाट कलाकार ल्याउने पनि बैठकको निर्णयमा उल्लेख छ ।
जनजातिहरूको आस्थाको धरोहर मुकुम्लुङमा (पाथीभरा देवी) भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै प्रेस विज्ञप्ति जारी गर्ने र सो विज्ञप्ति नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पठाउने पनि बैठकले निर्णय गरेको छ । साथै मुकुम्लुङ आन्दोलनलाई सहयोग गर्नका लागि आवश्यक पहल गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकमा किरात राई यायोक्खा यूकेकी अध्यक्ष आशा राई र चुम्लुङ यूकेकी अध्यक्ष कमला लिम्बूले उठाएका सवाललाई मध्यनजर गर्ने जातीय संस्थाहरूमा महासंघको औचित्यको बारेमा अझै पनि सबै सदस्यहरूले नबुझिरहेको अवस्थालाई चिर्नका लागि महासंघले जातीय संस्थाहरूसँग अन्तरक्रिया गरिने बताइएको छ ।
यसका लागि सबै भन्दा पहिले किरात याक्थुङ चुम्लुङसँग महासंघका नेतृत्वले अन्तरक्रिया गर्ने छ । यसको सहजीकरण सबैभन्दा पहिले चुम्लुङले गर्ने अध्यक्ष कमला लिम्बूले प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा केवाईसी यूकेका नवनिर्वाचित महिला प्रथम अध्यक्ष कमला लिम्बूलाई स्वागत सम्मान गरिएको थियो । त्यसैगरी किरात यायोक्खाका दोस्रो महिला अध्यक्ष आशा राईलाई पनि नेफिन यूकेले सम्मान गरेको थियो । शान्ति समाज नेपाल स्रस्टा सम्मान पुरस्कारबाट सम्मानित पूर्व वरिष्ठ उपाध्यक्ष लीला सेलिङ माबोलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो भने पत्रकार महासंघ यूकेकी पहिलो महिला अध्यक्ष विमला सेनेलाई पनि सम्मान गरिएको थियो ।
अध्यक्ष मेजर रिटायर्ड योगेश कोयी राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव फारम बहादुर दुराले गरेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार कर्म पहाडी शेर्पा, जनजाति अभियन्ता तथा सल्लाहकार भक्त बहादुर दुरा, महिला महासंघ यूकेकी सचिव मनीकला राईलगायतको उपस्थिति थियो ।