लन्डन । तमु धीं यूकेले विभिन्न कार्यक्रमसहित शनिबार २८ डिसेम्बर २०२४ मा रजत महोत्सव तथा तमु ल्होछार मनाएको छ ।
क्राइस्टचर्च एभिन्यू, ह्यारो लेजर सेन्टरमा भव्य समारोहबीच स्थापनाको २५औं वर्षगाँठ तथा तमु ल्होछार मनाएको हो । अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख विपिन दुवाडी प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।
महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको कार्यक्रममा डा. हर्क गुरुङ अवार्ड वितरण, संस्थाको मुखपत्र फ्रेंसी विमोचन, हरि गुरुङ नेतृत्वको १२औं कार्यसमिति र नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष सन्ध्या गुरुङ र नवनिर्वाचित आमा समूह कमलादेवी गुरुङ नेतृत्वबीच कार्यभार हस्तान्तरण, रजत महोत्सवको गीत सार्वजनिक, राफल ड्र, तमु धीं यूकेका संस्थापक पूर्वअध्यक्ष, पूर्वअध्यक्ष, विभिन्न इकाइमा योगदान दिनेहरू, कम्युनिटी सर्भिस अवार्डलगायतलाई बधाई तथा सम्मान गरिएको थियो ।
यस वर्ष डा. हर्क गुरुङ अवार्ड जीसीएसी उत्कृष्ट अंक ल्याउने लमजुङ पुर्ख्यौली घर भई हाल बेलायतमा रहेकी अम्बिका गुरुङले प्राप्त गरिन् । प्रमुख अतिथि उपनियोग प्रमुख विपिन दुवाडी र संस्थाका अध्यक्ष हरि गुरुङले खादा, प्रमाणपत्र र ५ सय पाउन्डको चेक हस्तान्तरण गरे ।
संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्षहरु मेजर डमर घले एमबीई, मेजर लालबहादुर गुरुङ, सुवाससिं गुरुङ बीईएम, मुछेत्र गुरुङ, कमल गुरुङ, रामचन्द्र गुरुङ, ज्ञाम गुरुङ, नन्दजंग गुरुङ, हितकाजी गुरुङलगायतलाई सम्मान गरियो । यस्तै संस्थापक सल्लाहकार, चन्द्रबहादुर गुरुङ, आशबहादुर गुरुङ, मिनबहादुर गुरुङ, संस्थापक कोषाध्यक्ष सूर्य गुरुङलगायत सदस्यहरूलाई पनि सम्मान गरिएको थियो ।
कम्युनिटी सर्भिस अवार्डतर्फ लन्डन इकाईबाट सिफारिस भएका प्रेमराज गुरुङ र लक्ष्मी गुरुङ, साउथ इस्ट रिजनल तमु धीं इकाइका ह्यारी गुरुङ, रन्जु घोताने, चारभन्ज्याङ तमु समाज यूकेबाट मास्टर प्रदीपजङ गुरुङ र अनमोल गुरुङलगायतलाई पनि सम्मान गरिएको थियो ।
अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा देखाउने समुदायका एक महिला र एक पुरुषलाई हरेक वर्ष प्रदान गरिने उद्देश्य अनुरुप शनिबार संस्थाको तर्फबाट महासचिव डा. विशाल गुरुङले 'तमु प्रतिभा पुरस्कार-२०२४' घोषणा गरेका हुन् । यस वर्ष उक्त पुरस्कार राष्ट्रिय कराँते खेलाडी एरिका गुरुङ (धादिङ) र प्यारा ग्लाइडर युकेश गुरुङ (कास्की) लाई प्रदान गरिने भएको छ । पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको छ । पुरस्कार हरेक वर्ष मनाइने ल्होछार कार्यक्रममा वितरण गरिने तमु धीं यूकेले जनाएको छ ।
तमु धीं यूकेको मुखपत्र ‘फ्रेसी’ प्रमुख अतिथि, विशेष अतिथिलगायतले लोकार्पण गरेका थिए । ल्होसार रजत महोत्सवको गीत पनि सार्वजनिक गरिएको थियो । मिनप्रसाद गुरुङको परिकल्पना रहेको गीत वरिष्ठ समाजसेवी तथा शिक्षाविद् एकेन्द्र गुरुङले लेखेका हुन् । ममता गुरुङ र राज गुरुङको आवाज रहेको गीतमा साजन गुरुङले संगीत दिएका छन् ।
प्रमुख अतिथि दुवाडीले ल्होछार रजत महोत्सवको शुभकामना सन्देश दिँदै तमु धीं यूकेको प्रशंसा गरेका थिए । त्यस्तै विशेष अतिथि तमु धीं नेपालका अध्यक्ष हुम गुरुङले तमुहरूको मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । ‘हाम्रो मौलिकता हराउँदै गएको छ । हामी तमु बन्नु पर्छ,’ उनले भनेका थिए ।
गैर आवासीय नेपाली संघ उपाध्यक्ष डा. हेमराज शर्माले राज्यले गर्नु पर्ने काम तमु धीं यूकेले गरिरहेको बताए । शुभकामना दिनेहरूमा जापानबाट आएका उपाध्यक्ष अर्मन गुरुङ, तमुँ ट्होह्यूला हङकङका भुपू अध्यक्ष गणेश गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, तमु प्हेल्हू संघ यूकेका अध्यक्ष क्या. रि. डेमबहादुर गुरुङ र एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ थिए । प्रमुख संयोजक उपाध्यक्ष कमल गुरुङले कार्यक्रमबारे प्रस्ट पारेका थिए । नयाँ र निवर्तमान अध्यक्ष दुवैले आ-आफ्नो मन्तव्य राखेका थिए ।
नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष विमला सेनेलगायत एक दर्जन बढी पत्रकारको उपस्थिति रहेको थियो । मेयर जित रानाभाट र यूके भरिकै विभिन्न पर्टीका काउन्सिलरहरूको बाक्लो उपस्थिति रहेको थियो । धर्म गुरुहरू र विभिन्न संघसंस्थाका २०० आमन्त्रित पाहुनाको उपस्थितिले कार्यक्रमको शोभा बढाएको थियो ।
नेपालबाट आएका कलाकारहरू राजबहादुर गुरुङ, आश्रम गुरुङ, सज्जा चौलागाईं र ब्यान्डसहित तृष्णा गुरुङले सांगीतिक धमाका मच्चाए । गुरुङ मौलिक पोसाकमा सजिएका गुरुङ, गुरुङसेनी र गैर गुरुङ समुदायले हल खचाखच भरिएको थियो ।
कल्चरल सेक्रेटरी साधुराम गुरुङको सक्रियतामा साँझ रमाइलो बनेको थियो । विभा गुरुङ, सूर्य गुरुङ, योगेश गुरुङ र हेलिसा गुरुङले उद्घोषकको काम गरेका थिए । कार्यक्रमका सहभागी करिब एक हजार ४०० जनालाई गोर्खा प्यालेस रेस्टुरेन्टले खानाको बन्दोबस्त गरेको थियो ।
भव्य कार्यक्रमलाई चुस्तदुरुस्त बनाउनका संस्थाका विभिन्न तह र तप्कामा रहेका व्यक्तिहरूको साथ र सहयोग रहेको थियो ।
दिलरास गुरुङ स्पोन्सर ग्रुपको संयोजक थिए । कल सेन्टर र भाङ्ग्रा संयोजकमा संस्थाका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ र रोहित गुरुङ रहेका थिए । यस्तै मिडिया संयोजकमा एसके कुमार गुरुङ, गेस्ट संयोजकमा उपाध्यक्ष पर्शुराम गुरुङ, स्टेज तथा हल डेकुरेसनको मेन संयोजकमा तमु धींको लन्डन इकाई र संयोजकमा ले. कुशन गुरुङ थिए ।
यसैगरी, यातायाततर्फ संस्थाका सल्लाहकार शन्तकुमार गुरुङ, टिकट तथा राफल संयोजकमा कोषाध्यक्ष दिलमाया गुरुङ, कल्चर संयोजकमा सांस्कृतिक सचिव शाधुराम गुरुङ, साउन्ड-म्युजिक संयोजकमा सल्लाहकार सपन राई, खाना तथा पेय पदार्थको संयोजकमा तमु धीं यूकेका ट्रस्टी सूर्य गुरुङ, सुरक्षा संयोजक सल्लाहकार ले. मुक्तिजङ गुरुङ थिए ।
सहजीकरण तथा एप्रिसिएसन समिति संयोजकमा संस्थाका सल्लाहकार ले. चन्द्रबहादुर गुरुङ, राफल संयोजकमा सन्ध्या गुरुङ र टिम, प्राथमिक उपचारमा लन्डन इकाई अध्यक्षसहितको टिम तथा कार पार्किङमा पनि लन्डन इकाईले नै संयोजनको भूमिका निभाएका थिए ।
कार्यक्रम सफलताका लागि करिब ७० संघसंस्था र व्यक्तित्वहरूले आर्थिक प्रयोजन गरेका थिए । राफलको पहिलो र दोस्रो पुरस्कार न्यु लक्ष्मी ज्वोलर्स अल्डरसटले प्रयोजन गरेको थियो । तेस्रो पुरस्कार कृष्ण ज्वेलर्स साउथ ह्यारोले प्रायोजन गरेको थियो ।
यस्तै, प्लेटोनियम १ हजार पाउन्ड दिनेमा सूर्य गुरुङ, पूर्ण र नवीन गुरुङ, ईश्वर गुरुङ, लक्ष्मी राई, कमल गुरुङ र सन्त गुरुङ थिए । गोल्ड ५०० पाउन्ड दिने २२ जना र सिल्भर २०० पाउन्ड दिने ४० जनाको नाम स्क्रिनमा देखाइएको थियो ।