लन्डन । गोरखा जिल्ला गुरुङ समाज यूकेको यस वर्षको ल्होछार कार्यक्रमका लागि शितल गुरुङसहित ३ जना कलाकार बेलायत आएका छन् ।
शनिबार २८ डिसेम्बरमा फोल्क्टोन, केन्टमा हुने सप्ह्री ल्हो ल्होछार सांस्कृतिक कार्यक्रम २०२५ का लागि शितल, गायिका हरिमाया गुरुङ र बिमला गुरुङ बुधबार राति बेलायत आएका हुन् । उनीहरुको स्वागतका लागि गोरखा गुरुङ समाजका अध्यक्ष टेकमान गुरुङ, उपाध्यक्ष राजकुमार गुरुङ, सल्लाहकारहरु टकमान गुरुङ, धनबहादुर गुरुङ, बलराम गुरुङ, गणेश गुरुङ, दिनेश गुरुङ, निवर्तमान उपाध्यक्ष मिनकुमार गुरुङ, समाजका मिडियाकर्मी मनिराज गुरुङ र समाजका आजीबन सदस्यहरु हिथ्रो एयरपोर्ट पुगेका थिए ।
केन्टस्थित हकिङ कम्युनिटी हल हेरोनमा हुने कार्यक्रममा लोक तथा दोहोरी गायिका रेजिना परियारको समेत प्रस्तुति रहनेछ । रेजिना केही महिनादेखि नै बेलायतको सांगीतिक भ्रमणमा छिन् । कार्यक्रम दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि निर्धारण गरिएको छ ।
कार्यक्रममा सहभागी हुन वयस्कलाई २५ पाउन्ड, ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई १२ पाउन्ड शुल्क तोकिएको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
मितिका आधारमा पुस १५ मा मनाइने तमु ल्होछार देश विदेशमा मुख्य दिनको अघि पछि पनि हुने गरेको छ । तमु (गुरुङ) समुदायले यस वर्ष मुप्रि ल्हो (गिद्द वर्ग) को बिदाइ र सप्ह्री ल्हो (सर्प वर्ग) ल्हो को स्वागत गरी ल्होछार मनाउँदै छन् ।