लन्डन । ईलमपोखरी समाज यूकेको ल्होछार कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ । शनिबार २१ डिसेम्बर २०२४ मा सामुयल कोडी स्पोर्ट्स कलेज फार्नबरोमा समाजका अध्यक्ष परशु गुरुङको निर्देशन तथा संयोजनमा ल्होछार कार्यक्रम भएको हो ।
बेलायतको ब्यस्तता र मौसम प्रतिकूल भए तापनि धेरैभन्दा धेरै ईष्टमित्रहरूको उपस्थितिले हल खचाखच भरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि लमजुङ समाज यूकेका अध्यक्ष दलबहादुर गुरुङ र विशेष अतिथिमा गोरखा जिल्ला गुरुङ समाजका उपाध्यक्ष राजकुमार गुरुङ उपस्थित थिए । औपचारिक कार्यक्रम अध्यक्ष परशु गुरुङको सभापतित्वमा सचिव प्रकाश गुरुङले संचालन गरेका थिए । उपस्थित सबै पाहुना तथा ईष्टमित्रहरूलाई उपाध्यक्ष बुद्धिराम गुरुङले स्वागत गरेका थिए ।
कार्यक्रममा यस वर्ष ८ जना उच्च शिक्षा हासिल गरेका व्यक्तित्वहरूलाई समाजको तर्फबाट बधाई तथा सम्मानपत्र दिइएको थियो । संयोग नै भन्नुपर्छ बधाई पाउनुहरूमध्येमा भिरकुना (टैल्हो) निवासी स्वर्गीय चोकबहादुर गुरुङका तीन छोरी (जिना, भुवन र कमला) हरूले युनिभर्सिटी अफ डर्बीबाट ब्याचलर अफ आर्टस् इन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट पास गरेकामा अध्यक्ष गुरुङले विशेष धन्यवाद दिएका थिए ।
अन्तमा संस्थापक अध्यक्ष मोहनसिङ गुरुङ र प्रमुख अतिथि लमजुङ समाजका अध्यक्ष दलबहादुर गुरुङको छोटो मिठो शुभकामना तथा धन्यवाद वक्तव्यपछि सभापति अध्यक्ष परशु गुरुङबाट आआफ्नो जिम्मेवारी वहन गर्ने र उपस्थित सबैलाई विशेष धन्यवाद दिएर औपचारिक कार्यक्रमको बिसर्जन गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा सांस्कृतिक सचिव गंजबहादुर गुरुङको नेतृत्वमा एकदमै आकर्षक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । सहसचिव कुमार गुरुङ र सबिता गुरुङले संचालन गरेको कार्यक्रममा स्थानीय कलाकारहरूले राम्रो नाचहरू प्रस्तुत गरेका थिए । सदाझैं गुरुङहरूको मौलिक तथा सांस्कृतिक सोरठी नाच धन्किँदा सबै मन्त्रमुग्ध भएका थिए भने नेपालबाट आएकी गायिका रेजिना परियारबाट मिठा गीतहरू गाएर सबैलाई नचाउन सफल भएको थियो । स्थानीय गायक हरि गुरुङसँग त प्रत्यक्ष घम्साघम्सी दोहोरी पनि गाइएको थियो ।
अन्तमा सहसचिव कुमार गुरुङको संयोजनमा ईलमपोखरी समाजका अग्रजहरू र व्यवसायीहरूबाट प्रायोजन गरेको आकर्षक पुरस्कारहरूको साथमा भाग्यशाली चिठ्ठा सम्पन्न भएपछि गायिका रेजिना परियारलाई समाजको तर्फबाट धन्यवादसहित शिरफूल र प्रमाणपत्र दिएर बिदाइ गरिएको थियो । गोरखा किचनबाट उपलब्ध स्वादिष्ट भोजन र समाजको तर्फबाट सुलभ मूल्यमा तातो चिसो पेय पदार्थले उपस्थित सबैलाई मज्जाले खाएर पिएर भरपूर नाचेर मनोरन्जन लिने अवसर मिलेको थियो ।
प्रतिकूल मौसमलाई बेवास्ता गर्दै आफ्नो कार्य व्यस्ततालाई थाँती राखेर उपस्थित भएका प्रमुख अतिथि, अतिथिहरू, समाज सम्पूर्ण पदाधिकारी सल्लाहकार, आजीवन सदस्यहरू र ईष्टमित्रहरू सबै सबैलाई ईलमपोखरी समाजको तर्फबाट धन्यवाद दिइएको सहसचिव कुमार गुरुङले बताए ।